सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । सर्लाही,  बिष्णु गाउँपालिका-६ स्थित सडकमा बीआर ३० एडि ९८७२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीया सुनिता देवीको सोमबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । त्यस्तै काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ तिनथानास्थित सडकमा बा.५ ख २१९२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री काठमाडौं नैकाप बस्ने गोरखा घर भएका ३२ वर्षीय अमन गुरुङको आइतबार राति मृत्यु भएको छ ।



ठक्कबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर हुँदै थप उपचारको लागि ग्रिनसिटी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता पर्सा, ठोरी गाउँपालिका-३ ब्रहमानगरस्थित सडकमा प्र.२-०३-००१ त ३९८१ नम्बरको ट्याक्टरको टेलरमा बीआर ०५ एक्यु ६६७६ नम्बरको मोटरसाइकल ठोक्किएर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक जिराभवानी गाउँपालिका-४ बस्ने २० वर्षीय जयकुमार रौनियारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सल्यान, कपुरकोट गाउँपालिका-३ सेतापैरामा रा.१ च १०२५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ३ सय ५० मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा जिपमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा चालक दाङ तुलसीपुर उपहानगरपालिका-१८ बस्ने २५ वर्षीय भक्त बहादुर घर्ती र जीपका साहु सोही ठाउँ बस्ने ५० वर्षीय गणेश बुढा रहेका छन् । साथै दुर्घटनामा घाइते भएका जीपमा सवार अन्य १ जनाको प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार