नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असोज ।
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको छ ।
मङगोलिया नेपालसित खेल्दै पुरुष क्रिकेटमा आज डेब्यू गरेको हो । टस हारेर सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै ३१४ रन बनाएको हो । यो टी २० मा सर्वाधिक रन हो । यसअघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध टी २० मा २८७ रन बनाएको थियो ।
नेपालका लागि कुशल मल्लले ५० बलमा १२ छक्का र ८ चौका प्रहार गर्दै अविजित रहँदै १३७ रनको शतकीय पारी खेले भने कप्तान रोहित कुमार पौडेलले ६१ रनको अर्धशतकीय पारी खेले । यसैगरी सबैभन्दा कम बलमा अद्र्धशतकको कीर्तिमान बनाउने क्रममा दीपेन्द्रसिंह ऐरीले १० बलमा लगातार ८ छक्काको मद्दतमा ५२ रनमा अविजित रहे । उनले ९ बलमा अर्धशतक पूरा गरेका हुन् ।
३४ बलमा शतक पूरा गरेका कुशलले दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमाशेखरले ३५ बलमा शतक प्रहार गर्दै बनाएको कीर्तिमान तोडेका हुन् । यस्तै नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल १९ र आशिफ सेख २६ रन बनाई आउट भए ।
३१५ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको मंगोलिया १३.१ ओभरमै अल आउट हुँदै ४१ रनमात्र बनाउन सक्यो । मंगोलियाका लागि दावासुरेन जामयान्सुरेनले १० रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । मगोलियाका ५ खेलाडी शुन्य रनमा आउट भएका थिए भने तीन खेलाडीले मात्र १ रन जोड्न सकेका थिए ।
नेपालका लागि करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने समान २-२ विकेट लिए भने सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको भागमा समान १-१ विकेट रह्यो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सन् २०२१ मा मात्र मङगोलियालाई एसोसिएट टोलीको मान्यता दिएको हो । समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्ससित खेल्नेछ ।
समूह ए मा शीर्ष स्थानमा रहन सके नेपाल क्वाटरफाइनलमा प्रवेश गर्ने छ । क्वाटरफाइनलमा नेपालले भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तानमध्ये एउटा टोलीसित खेल्ने छ । पाँचवटै देशले एकदिवसीय विश्वकप प्रतियोगिताका कारण आफ्नो दोस्रो टोली एसियाली खेलकुदमा सहभागिताका लागि पठाएका छन् । प्रतियोगितामा भाग लिन नेपाली पुरुष क्रिकेट टोली आइतबार नै चीन पुगेको हो ।