साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल भारतसँग टाइब्रेकरमा ३-२ ले पराजित भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनल खेलमा निर्धारित समयसम्मको खेल १-१ गोलको बराबरी सकिएपछि खेल टाइब्रेकरबाट पुगेको हो । त्यसअघि खेलको २६औँ मिनेटमा भारतका गोम्सर गोयारीको हेडरलाई साहिल खुर्सिदले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।



पहिलो हाफ १-० मा सकिएको खेलमा खेलको ७४औँ मिनेटमा नेपालका समीर तामाङले एक गोल फर्काउँदै खेललाई १- १ गोलको बराबरीमा ल्याए । उनले दीपक थापा मगरको असिस्टमा हेड गोल गरेका हुन् ।

त्यसपछि टाइब्रेकरमा नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले गोल गर्दा प्रशान्त लक्सम लिम्बू, लक्ष्मण थापा र विक्रम तामाङले गोल गर्न चुकेपछि नेपाल घरेलु भूमिमा पराजित हुन पुग्यो । यता भारतका लागि अर्जुनसिंह ओइनाम, ग्वाग्व्मसर गोएरी र मङ्लेनथाम किपगेनले गोल गरे भने  दिनेश सिंह सौवम र रिक्की हओबमको प्रहार विफल भएको थियो ।

हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरएको छ भने भारत फाइनलमा प्रवेश गरेको छ । अब फाइनलमा भारत र पाकिस्तान भिड्दै छन् । बुधबार नै भएको पहिलो सेमीफाइनलमा भुटानलाई पराजित गर्दै पाकिस्तान फाइनलमा प्रवेश गरेको थियो । फाइनल खेल यही शनिबार हुनेछ ।

सम्बन्धित समाचार