विदेशी लगानीकर्तालाई नेपालमा लाभैलाभ

आर्थिक वर्ष ०७८र७९ मा १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ विदेशी लगानी भित्रियो । यो विदेशी लगानीकर्ताले गरेको प्रतिबद्धताको ३४ दशमलव ३ प्रतिशत मात्रै हो । तर, सोही वर्ष लाभांशबापत १५ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ बाहिरियो । यसले नेपालमा लगानी गरे राम्रै प्रतिफल लैजान पाइन्छ भन्ने सन्देश दिएको विज्ञहरू बताउँछन् ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७८र७९ मा विदेशी लगानीकर्ताले स्वीकृत रकमको ३४ दशमलव ३ प्रतिशत मात्रै लगानी ल्याएका थिए । राष्ट्र बैंकका अनुसार सो वर्ष १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ लगानी भित्रिएको थियो । तर, सोही वर्ष लगानीको लाभांशमार्फत १५ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ हाराहारीमा बाहिरिएको छ ।



आर्थिक वर्ष ०७७र७८ मा त विदेशी लगानी भित्रिएको भन्दा लाभांशबापत बाहिरिने रकम धेरै थियो। त्यो वर्ष १९ अर्ब ५१ करोड २७ लाख रुपैयाँ भित्रिएको थियो । लाभांशबापत २६ अर्ब ७ करोड ६६ लाख रुपैयाँ बाहिरिएको थियो । अर्थात्, बाहिरबाट आएको भन्दा ६ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ बढी रकम बाहिरिएको थियो ।

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानीका लागि खर्बौंको प्रतिबद्धता हुन्छ । तर, मुस्किलले अर्बमा मात्रै रकम भित्रिने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । बरु, विदेशी लगानीकर्ताले बर्सेनि ठूलै रकम लाभांशबापत लैजाने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। राष्ट्र बैंंकको तथ्यांकअनुसार २७ वर्षमा ४ खर्ब ११ अर्ब ५० करोड ७२ लाख ९० हजार रुपैयाँ विदेशी लगानी स्वीकृत भयो । तर, त्यसको ३६ दशमलव २ प्रतिशत अर्थात् १ खर्ब ४८ अर्ब ९९ करोड २७ लाख २० हजार रुपैयाँ मात्रै लगानी नेपाल आयो । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

सम्बन्धित समाचार