नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असोज ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । झापा, कन्काई नगरपालिका-४ कन्काई पुलस्थित सडकमा प्र.१-०२-००१ क ४६४४ नम्बरको मिनी ट्रकले प्र.१-०१-०१३प ८९७२ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार पाँचथर फालेलुङ गाउँपालिका-५ बस्ने ५९ वर्षीय प्रेम बहादुर खत्रीको मृत्यु भएको छ ।
दुर्घनामा गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार ट्रक चालकको खोजी गरिरहेको छ ।
त्यस्तै सल्यान, छत्रेश्वरी गाउँपालिका-५ तिर्थपोलेमा लेखपोखराबाट शारदा नगरपालिका- १२ कागखोलातर्फ जाँदै गरेको लु.१ ज १८६१ नम्बरको सफारी जिप सडकबाट अन्दाजी ६० मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिपमा सवार शारदा नगरपालिका-१२ तिमिले बस्ने ७६ वर्षीया धुर्बि बोहरा र सोही नगरपालिका-१५ बरला बस्ने ४५ वर्षीया मुना सेजवालको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका १७ जनामध्ये जिपका चालकसमेत ४ जनालाई जिल्ला अस्पाताल, ४ जनालाई शारदा नगरपालिका-१ श्रीनगरस्थित परोपकार अस्पताल, ६ जनालाई कर्णाली हस्पिटल र ३ जनालाई कान्तिपुर अस्पतालमा उपचारको लागि पठाइएकोमा १ जनालाई थप उपचारको लागि प्रादेशिक अस्पताल कालागाउँ र २ जनालाई नर्सिङ होम नेपालगञ्ज रिफर गरिएको छ भने १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।
यस्तै सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-३ भैरवस्थानमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ बस्ने रोजना पुरीको छोरा ६ वर्षीय टेक दर्शन पुरीको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कर्णाली केयर अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करमा संलग्न हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी काभ्रे, बनेपा नगरपालिका-११ आईटीपार्क नजिक पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा.प्र.०२-००७-प २९७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय कैलाश थापाको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शीर मेमोरियल अस्पताल हुँदै अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।