वडाभित्रका घरघरमा पुगेर स्वास्थ्य सेवा दिने तयारीमा छौं : वडाध्यक्ष खड्का

बुढानिलकण्ठ नगरपालिका वडा नं. ६ का वडाध्यक्ष रवि खड्काको जन्म २०३६ असोज १ गतेका दिन बुढानिलकण्ठ– ६, गणेश चोकमा पिता लक्ष्मण खड्का र माता कान्छी खड्काको माहिलो छोराका रूपमा भएको हो । उनले प्रारम्भिक शिक्षा खड्का गाउँस्थित भद्रकाली प्राविबाट आरम्भ गरेका भए पनि शान्ति विद्या गृहबाट एसएलसी पास गरे र प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसबाट मेजर विषय गणित लिएर स्नातकसम्मको अध्ययन पूरा गरेका छन् ।

उनले २०५१ सालबाट राजनीति सुरु गरे । उनी अनेरास्ववियुबाट सुरु भएको राजनीति काठमाडौं जिल्ला कमिटी कोषाध्यक्ष हुँदै २०५९ बाट पार्टी राजनीति सुरु गरेको बताउँछन् । वडा कमिटी सदस्य, गाउँ पार्टी सचिव, गाविस सर्वदलीय समितिमा प्रतिनिधि, वडा कमिटी अध्यक्ष आदि भूमिकामा रहेर आफ्नो क्षेत्रका जनताको सेवामा जुट्दै गर्दा २०७९ वैशाखमा भएको स्थानीय चुनावमा बुढानिलकण्ठ वडा नं. ६ का वडाध्यक्षमा विजय भए ।



एमाले राजनीतिमा सक्रिय र समर्पित बुढानिलकण्ठ नगरपालिका वठा नं. ६ का वडाधयक्ष रवि खड्कासँग नवकान्तिपुर डटकमकी संवाददाता सितल आचार्यले वडासँग सम्बन्धित विविध विषयमा गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

यहाँले वडाको बागडोर सम्हाल्दै गर्दा यस वडाभित्र गरिने मुख्य–मुख्य योजना र प्राथमिकताहरू के–के रहेका छन् ?
म निर्वाचित भएर आएपछि वडालाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर वडाका अगुवाहरूसहित विभिन्न विज्ञहरूसित छलफल गरेँ । वडामा पानीको समस्या थियो । पासिकोट इटालिटार, ओखलगाउँ, च्यासुन्डोलमा बाटोको बिजोकको अवस्था थियो । यसलाई प्रमुख प्राथमिकतामा राखेँ र त्यसलाई कसरी यथाशीघ्र पूरा गर्न सकिन्छ भनेर योजना बनाएँ ।

समय अभाव र कार्य गर्न नसकिरहेको अवस्थामा च्यासुन्डोल इन्डोर गेम टेण्डर नगर्ने थाहा पाएर पहिलो काम नै २०७९ असार ३१ गते टेण्डर निकाल्न लगाएँ । वडास्तरबाट ३ करोड १५ लाख, नगरपालिकाबाट ३ करोड ५० लाख विनियोजन गर्न पनि सफल भएँ । संघ र प्रदेशबाट छुट्टिएको रकम ७ करोड बराबरको टेण्डर निकाल्न लगाएँ । ३ करोडको योजना बुढानिलकण्ठ– ७ का वडाध्यक्षसँगको सहयोग र सहकार्यमा बुढानिलकण्ठ–६, च्यासुन्डोलमा गर्न सफल भएँ ।

१९ करोड बराबरको खानेपानी बृहत योजनाको बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुखबाट सिलान्यास गराउन सफल भइयो । पासिकोटमा खाने पानी खुवाउने योजना बनाएर पासिकोट बुनपा– ४ मा हाम्रो योजना अन्तरगत ५० लाखको खानेपानी ट्याङ्की बनाउन सफल भएँ । यसरी वडाका नागरिकलाई २०८० सालभित्र जसरी पनि खानेपानी खुवाउने, २०८२ सालभित्र वडाभित्रको सम्पूर्ण बाटो स्तर उन्नति गरिसक्ने र २०८० मङ्सिर महिनामा वडाको आफ्नै भवन शिलान्यास गर्ने पनि योजना बनाएको छु ।

संघीय राजाधनी रहेको काठमाडौं महानगरपालिकासँग जोडिएको नगरपालिका भएको हैसियतले आफ्नो वडा विकासको लागि के कस्ता आर्थिक योजनाहरू बनाउनुभएको छ ?

संघीय राजधानीसँग जोडिएको नगरपालिका भए पनि हाम्रो वडा अलिक पिछडिएको, पुराना घरहरू भएको गाउँजस्तो भएकोले यहाँ नयाँ बस्ती कम छ । यो वडा बुढानिलकण्ठ नगरपालिकाको ठूलो वडा भएकोले धेरै काम गर्नुपर्ने अवस्था छ । आफ्नै वडा कार्यालय भवन बनाउनु, सुविधासम्पन्न स्वास्थ्य चौकी बनाउनु, युवा खेलाडीहरूका लागि खेल मैदान बनाउनु, योगाभ्यासको लागि हल बनाउनु, पार्कका पूर्वाधार बनाउनु, शिशु स्याहार केन्द्र बनाउनु, इ–लाइब्रेरी बनाउनु जस्ता धेरै काम गर्न बाँकी नै छ । वडाबासी तथा साथीभाइ र अरू जनप्रतिनिधिहरूबाट पनि अहिले जस्तै साथ, सहयोग र सद्भाव पाएमा सबै काम सम्पन्न गर्ने आँट राखेको छु र गर्छु पनि ।

इटालिटार सडकको काम वर्षैंदेखि किन अगाडि बढ्न नसकेको हो ?
महत्वपूर्ण प्रश्न सोध्नु भयो ।
इटालिटार भन्नासाथ कति राम्रो ठाउँ भन्ने सम्झनु हुन्छ । गाविस हुँदा यो सबैभन्दा राम्रो ठाउँ थियोे । युरोपको इटाली जस्तै सुन्दर भएर यस ठाउँको नाम इटालीटार राखिएको थियो । तर अहिले वडाभरिकै सबैभन्दा नराम्रो ठाउँ हुन पुगेको छ ।

म निर्वाचित हुनुभन्दा पहिला के के भयो भन्दा पनि म निर्वाचित भएपछि इटालिटारलाई पहिलो प्रथामिकतामा राखेर काम गरिरहेको छु । अहिले १४ फिटे बाटोलाई २० फिटे बनाउने तयारी स्वरुप काम सुरु भइसकेको छ । लुडिखोला बाटो उकालो जति २० फिटे बाटोमा ढलान गरिसकिएको छ । बाँकी काम अगाडि बढाउन सो क्षेत्रका नागरिकसँग छलफल गरी आव २०७९÷८० मा थप ३६ लाख बजेट छुट्याएर नागरिकको जग्गा पनि दिनु क्षति पनि सहनु यो त अन्याय हुन्छ भनेर वडाको तर्फबाट वाल लगाउने सहमति भएअनुसार बाल लगाउने कार्य हुँदै छ । चालु आवमा सो बाटो सम्पन्न गर्न ३५ लाख छुट्याएको छु । यो आवमा सो बाटो जसरी पनि २० फिटे बनाएर पुनः इटाली जस्तै इटालिटार बनाउने योजनामा छु । त्यसमा सफल हुन्छु भन्ने विश्वास छ ।

बुढानिलकण्ठ नगरपालिकाको मात्रा हैन प्रदेश सरकार र केन्द्र सरकारबाट पनि वर्षेनी बजेट छुट्टिन्छ तर काम अघि बढ्न सकेको हुन्न, किन होला ? स्थानीयबासीले साथ नदिएको हो कि ठेकेदारले काम नगरेको हो ? समयमा काम नगर्ने ठेकेदारलाई नै बारम्बार काम किन दिनुहुन्छ ? कतै वडा र नगरपालिकाबीच स्वार्थको मिलेमतो त छैन ?
तीन तहको सरकार छ हाम्रो देशमा । पहिला प्रदेश र संघ दुबैमा नेकपा एमालेका प्रतिनिधि हुनुहुन्थ्यो । त्यस बेला केन्द्रबाट ५ करोड र प्रदेशबाट ४ करोडको योजना थिए । त्योभन्दा पहिला पनि तेस्तै ढङ्गले बजेट छुट्टिन्थ्यो । छुट्टिएको रकम पनि निरन्तरको फलोअपविना पाउन कठिन हुन्थ्यो । पाएको रकम पनि समयमा काम नहुँदा फर्केर जाने जोखिम हुन्थ्यो । तर मेरो पहल र प्रयासमा गत आवमा निर्धारित काम समापन भयो र रकम फिर्ता गर्नु परेन ।

तर अहिले संघ र प्रदेशम चुनिनुभएका माननीयहरूले यस वडालाई खास्सै महत्व दिएको महसुस गर्न पाएको छुइनँ । त्यही भएर दुबै ठाउँबाट ठूलो रकम विनियोजन पनि नभएको हुन सक्छ ।

संघ र प्रदेशअन्तर्गतका योजनाहरूमा उतैबाट टेण्डर हुन्छ । टेण्डर हुँदा सबैभन्दा कम रेट कोट गर्नेलाई टेण्डर पर्ने भएकोले कम रेट वालालाई नै ठेक्का पर्ने भयो । एउटा दररेट अनुमान गरेर लिएको ठेक्का बजारभाउ बढ्ने बित्तिकै लागत खर्च पनि बढ्ने भएपछि ठेक्केदार पलायन हुन थाल्छन् । यस्तो प्रक्रियामा वडाको कुनै हात हुँदैन । हामी त काम कसरी राम्रो गराउने भन्ने योजाना मात्र बनाउँछांै । समयमा काम सम्मन्न नगर्ने ठेकेदारलाई बारम्बार फोन गरेर वा गाली गरेर भए पनि काम गराइरहेको छु ।

तल्लो पासिकोटका जनताले कहिलेबाट खानेपानीको सुविधा पाउलान् ?
तल्लो पासिकोटका नागरिकलाई पानी खुवाउने अन्तिम अवस्थामा पुगेका छौं । ट्याङ्की तयार भइसकेको छ । पाइपलाइन बनाएर सकिन ल्ऽागेको छ । खानेपानी समितिसँग हालसालै भएको छलफलले हाम्रो वडाको तल्लो पासिकोटका १०० घरधुरीलाई दशैंअघि नै पानी वितरण गर्ने तयारीमा छौ । पाडेसिममा ओभरहेड र अण्डरग्राउण्ड ट्याङ्कीको लागि पनि यसै साल टेन्डर निकाल्ने तयारीमा लागेको जानकारी गराउन चाहन्छु । सय घरधुरीलाई ५० हजार छुटका साथ हामी दशैंको कोसेलीस्वरुप धारा जोड्ने तयारीमा क्रियाशील छौं ।

जनशक्ति विकासको लागि प्रमुख आधार मानिएको शैक्षिक क्षेत्रको विकासको लागि यहाँको योजनाहरू के के छन् ?
हाम्रो वडामा एउटा मात्र सरकारी स्कुल छ, त्यो पनि ५ कक्षासम्मको मात्र । प्राइभेट स्कुल भने तीनवटा छ्न् । सरकारी स्कुललाई व्यवस्थित बनाउन वडाले १३ लाख छुट्याएर स्कुललाई स्कुल जस्तै बनाइएको छ । अहिले शिक्षकसँग छलफल गरेर पूरै मन्टेश्वरी प्रविधिबाट पढाइ हुने व्यवस्था मिलाएका छौं । यस स्कुललाई आम नागरिकको पहिलो रोजाइको स्कुल बनाउन पहल थालेका छौं ।

स्कुलको स्तरोन्नतिका लागि लागिपरेका छौं । यस स्कुललाई १०÷१२ कक्षासम्म नै पढाउने तयारीमा जुटेका छौं । यसका लागि स्कुलका प्रधानाधयापकसँग पनि केही चरणमा वार्ता भइसकेको छ । छात्रवृत्तिमा पनि स्थानीयलाई प्राथमिकता दिएको छु । जेहेन्दार तर आर्थिक स्थिति कमजोर भएको कारण पढ्न नसक्ने विद्यार्थीलाई वडाको तर्फबाट छात्रवृत्तिअन्तर्गत पढाउनका लागि पहल गर्ने पनि जानकारी गराएको छु ।

वडामा स्वास्थ्य क्षेत्रको सुघारका लागि के के योजना छन् ?
वडामा रहेको एउटा स्वास्थ चौकी पनि व्यवस्थित रहेन छ, त्यसलाई अलिक व्यवस्थित गर्ने प्रयास गरेको छु । हामी निर्वाचित भएपछि हामीले आफ्नो वडामा कति दीर्घरोगी छन् भनेर तथ्यांक सङ्कल्ऽन गरेका छौं । बेलाबेला विभिन्न किसिमका स्थास्थ्य शिविर पनि ल्याएका छौं । पाठेघरको मुखको क्यान्सर चेक जाँच शिविर, आँखा शिविर जस्ता शिविर राखिसकेका छौ भने निकट भविष्यमा नै छालाको शिविर राख्ने तयारी मा छौं । त्यतिमात्र होइन, बुढानिलकण्ठ नगरपालिकाका वडा नं. ४ र ७ समेतलाई समेटेर डे केयर सञ्चालन गर्ने गरी एउटा सुविधासहितको आफ्नै एउटा स्वास्थ्य चौकी भवन बनाउने तयारिमा छौ । स्वयंसेविका दिदिबहिनीहरुलाई दक्ष बनाएर घर घरमै महिनाको एकपटक सेवा दिने तयारीमा छौ ।

आफ्नो वडाको विकासको लागि तपाईले कुनै गुरु योजना पनि बनाउनु भएको छ ? तपाईको पालामा वडा कार्यालयले आफ्नै भवन पाउनसक्छ ?
मेरो कार्यकाल अझ पनि तीन वर्ष ७ महिना बाँकी छ । म एक एक दिनको महत्व बुझेर कामको योजना बनाइरहेको छु । कुरा रह्यो वडा भवनको अब केही दिनमा टेण्डर निकाल्ने विषयमा कार्यपालिकाबाट निर्णय भइसकेको छ । सायद दशंै अघि नै टेण्डर निस्कन्छ होला । हामी मङ्सिरमसान्तसम्ममा शिलान्यास गर्ने तयारीमा छौं ।

२०८१ को अन्तिमतिर आफ्नै वडा भवनबाट सेवा दिने योजना छ । दीर्घकालीन योजनाको कुरा गर्दा वडामा अन्तर्राष्ट्रिय स्तरको कबर्ड हल बन्दै छ । असोज महिनाभित्र वडालाई बुझाउने तयारी हुँदै छ । हामी वडा स्तरीय योग शिविर हल पनि बनाउने तयारीमा छौ । वडामा आफ्नै एउटा फुटसलको व्यवस्थापन पनि गर्दैछौं ।

वडाबासीको लागि अझ महत्वपूर्ण कुरा चाहिँ यस सालको अन्तिमसम्ममा बृहत् खानेपानीको योजना सम्पन्न गरेर वडावासी सबैलाई पानी खुवाउने लक्ष्य रहेको छ । बुढानिलकण्ठ– ६ को रिङरोडको रुपमा इटालिटार–पासिकोट–नयाँ पत्रिका–बिष्ण्ुमती च्यासिण्डोल हुँदै गोल्फुटार निकाल्ने बाटो पनि सम्पन्न हुने जानकारी गराउन चाहन्छु ।

हाम्रो वडाको विशेष योजना भनेकै वडाबासी सबैलाई यस सालभित्र पानी खुवाउने नै हो । त्यसका लागि पूर्वाधारका सबै काम २०८२ सालभित्र सक्नु छ । यस साल इटालिटारको बाटो सक्नु अर्को चुनौती हो । अरु वडाभन्दा हाम्रो वडा त्यस्सै पनि फरक छ । र, म आफू पनि फरक बनाउने योजनामा पनि छु ।

हामीले हाम्रो वडाका नागरिकलाई भित्री बाटोबाट बाहिर मेन सडक निस्कने सवारी साधन निःशुल्क बनाउने योजनामा पनि छौं । पैसा नभएर पढ्न नपाउनेलाई विशेष योजना बनाएका छौं । ‘जन्मदै बैंक खाता’ अभियान सन्चालन गरेका छांै । यस योजनाअन्तर्गत जन्मेको ३५ दिनभित्र वडाले १५ सय रुपैयाँ हालिदिएर प्रभु बैंकमा खाता खोलिदिने छ । यो एकदमै नौलो कार्यको थालनी हुनेछ ।

महिला दिदीबहिनीहरूलाई आयसित जोड्न ड्राइभिङ तालिम, साबुन बनाउने तालिम आदिमा सरिक गराएर व्यवसायिक बनाएका छौ । दलित महिला दिदीबहिनीहरुलाई पनि आयसित जोड्ने कार्य भएका छन् । जेष्ठ नागरिकहरूसँग उनीहरूको दुःख सुख साट्ने कार्यक्रम अन्तर्गत देश दर्शनको कार्यक्रम गराइयो । जेष्ठ नागरिकहरुलाई अत्यावश्यक सामग्रीहरू वितरण गरेर उनीहरूबाट आशीर्वाद लिने कार्यक्रम पनि सम्पन्न गरिएको छ । अझ धेरै गर्न बाँकी छ ।

अन्त्यमा थप केही भन्न चाहनुहुन्छ कि ?

अन्त्यमा, जसरी असारमा मात्र काम गर्ने परिपाटी छोडेर सबै योजनाहरु समयमै सक्न तपाईं टोलबासी सम्पूर्ण दाजुभाइ दिदीबहिनी सबैले सहयोग गर्नु भएको छ, त्यसका लागि तपाईहरू सबैप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै नमन गर्न चाहन्छु । भावी दिनहरूमा पनि यसैगरी तपाईंहरुको साथ, सहयोग र आशीर्वाद पाइरहने आशा गरेको छु ।

त्यसैगरी मेरो कुरा, मेरा योजना र वडामा भइरहेका गतिविधिहरूलाई तपाईंको माध्यमबाट बुढानिलकण्ठ नगरबासी सबैमा जानकारी गराउन पाएकोमा तपाईमार्फत तपाईंको मिडियालाई पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु ! धन्यवाद !!

सम्बन्धित समाचार