स्वर्गको टुक्राजस्तै शैलुङमा स्पार्क एड्भेञ्चर सम्पन्न

सयवटाजति थुम्काहरू मिलेर बनेको शैलुङमा फराकिला हिमशृङ्खला, आकर्षक सूर्योदय र सूर्यास्तको मनोरम दृश्य, स्थानीय संस्कृति, रैथाने परिकार, चौंरीगोठ र गोठाले जीवनसँगै चिसो अनि शान्त मौसमको अनुभव लिँदै ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न भएको छ ।

दोलखा र रामेछापको सिमानाको पर्यटकीय क्षेत्र शैलुङमा ‘वाइल्ड स्टे विथ चौँरी’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा क्याप्टेन विजय लामा, एक्सन स्टार निखिल उप्रेती, गायक यशकुमार, लोक गायक प्रेमराजा महतलगायत दुई सय जनाभन्दा बढीको सहभागिता रहेको थियो ।



स्पार्क एड्भेञ्चर

विहीबार बिहान धुलिखेलको मिराबेल रिसोर्टमा पञ्चेबाजासहित एडभेञ्चरको उद्घाटन गरिएको थियो । विभिन्न ठाउँमा स्थानीयहरूबाट गरेको सम्मान तथा स्वागतमा रमाउँदै पर्यटकहरू शैलुङसम्म पुगेका थिए । विहीबार साँझ गाडीमा खोलाखर्क पुगेका टोलीलाई खोलाखर्कमा स्थानीय संस्कृतिअनुसार स्वागत गरिएको थियो । त्यहाँ स्थानीयले सगुनस्वरुप प्याला (स्थानीय रक्सी), घ्यु र नुन राखेर पकाइएको चिया (स्युच्या) खुवाएर पाहुनाको सम्मान गरेका थिए । त्यसपछि पर्यटकहरू करिब ३५ मिनेटको पैदलयात्रामा शैलुङ पुगेका थिए ।

करिब ५० वटा गाडीमा लामबद्ध भएर गएका विभिन्न क्षेत्रका पर्यटकहरूले स्थानीय लोकल परिकारको स्वाद चाख्दै शैलुङको थुम्कामा क्याम्पिङ टेन्टभित्र बस्दा नयाँ अनुभव लिएको बताएका थिए ।

असोज ११ देखि १३ गतेसम्म आयोजना गरिएको कार्यक्रममा कलाकारहरू गरिमा शर्मा, स्वानिका बास्तोला, लेखक बुद्धिसागर, डा रन्जित बराल, कमेडियन कैलाश कार्की, ट्राभलर सिर्जना सिज्जुलगायत प्रशासनिक एवं सुरक्षा निकायका अधिकारीहरूसमेत सहभागी भएका थिए । कार्यक्रममा नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली, आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त वादे, चिकित्सक, विभिन्न दूतावासका प्रतिनिधिहरू, कूटनैतिक नियोगका प्रतिनिधिहरूलगायत फरक फरक क्षेत्रमा संलग्न व्यक्तित्वहरूको सहभागीता रहेको थियो ।

कार्यक्रम संयोजक अमरदीप भट्टराईले भौगोलिक हिसाबले गाह्रो हुँदा हुँदै पनि शैलुङमा कार्यक्रम सम्पन्न गरिएको बताए । पर्यटकहरूलाई एड्भेञ्चर महसुस गराउने उद्देश्य पूरा भएको बताउँदै उनले यस कार्यक्रमले शैलुङको पर्यटन प्रबद्र्धन गर्न निकै ठूलो भूमिका खेलेको बताए । कार्यक्रम अवधिभर स्थानीय उत्पादनलाई प्रवद्र्धन गरिएको भन्दै उनले भने– ‘लोकल खाना र लोकल ठाउँको प्रवद्र्धन गर्ने प्रयास सफल भयो ।’

स्पार्क एड्भेञ्चर

स्पार्क एड्भेञ्चरको टोलीलाई स्वागत गर्न दोलखा र रामेछापका स्थानीय सरकार र तथा बागमती प्रदेश सरकारका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

करिब ५ घण्टा लगाएर शैलुङ आसपासबाट स्वतःस्फूर्त रूपमा पुगेका स्थानीयबासीले विभिन्न स्थानीय झाँकी, सांस्कृतिक नृत्यलगायतको प्रस्तुति दिएका थिए । उक्त कार्यक्रममा हजारौं स्थानीयको स्वतःस्फूर्त रूपमा उपस्थिति रहेको पनि संयोजक भट्टराईले जानकारी गराए ।

स्पार्क कारका अनुसारका यस किसिमको कार्यक्रम नेपालमै पहिलोपटक भएको हो । आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि यस किसिमको कार्यक्रम आयोजना भइरहनुपर्नेमा सरोकारवालाहरूल पनि जोड दिएका थिए । शैलुङलाई पहिलोपल्ट नजिकबाट नियाल्ने अवसर पाएका सहभागीहरूले ‘स्वर्गको टुक्रा नै यही हो’ भन्ने भान भएको बताए ।

सहभागीहरूको प्रतिक्रिया
कार्यक्रममा सहभागी क्याप्टेन विजय लामाले यस किसिमको एड्भेञ्चर कार्यक्रमले मुलुकको पर्यटन एवम् आर्थिक रूपान्तरणमा उल्लेख्य सहयोग पुग्ने बताए । उनले स्पार्क कारको यस किसिमको काम आफैंमा साहसिक भएको पनि बताए । उनले भने– ‘साढे तीन दशकदेखि शैलुङमाथिको आकाशमा उड्दै ‘वाउ’ मात्रै भन्दै आएको थिएँ, अहिले प्रत्यक्ष रूपमा स्थलगत अवलोकन गर्ने अवसर पाएँ । यस ठाउँका कारण स्थानीयको भविष्य उज्जवल बन्ने सम्भावना पनि देखेको छु ।’

क्याप्टेन लामाले शैलुङ सुनको कचौरा भएको र यसलाई स्थानीय समूदाय, जनप्रतिनिधि तथा समग्र मुलुकले चिन्न सक्नुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममै सहभागी भएका अध्यात्म र प्रकृतिसँग रमाउने एक्सन स्टार निखिल उप्रेतीले आफू भगवान बुद्धले टेकेको भूमिमा आउँदा निकै आनन्दित भएको बताए ।

लोक गायक प्रेमराजा महतले यस किसिमको कार्यक्रमले मुलुकको पर्यटन प्रवद्र्धन भई आर्थिक समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे । उनले थपे– ‘स्पार्क कारको यस किसिमको कार्यक्रमले निरन्तरता पाउनु पर्छ ।’ कार्यक्रममा मोटिभेसनल स्पिकर रविन कटुवालले कार्यक्रमलाई रमाइलो तरिकाले सञ्चालन तथा निर्देशन गरेका थिए ।

स्पार्क एड्भेञ्चर

साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकहरूका लागि यातायातको व्यवस्थापन गर्ने कार्य गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।

गत वर्ष लमजुङको भुजुङमा भिरमौरीको सिकार अवलोकन गरेर सुरू भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौँरीगोठलाई केन्द्रित गर्दै आयोजना गरिएको थियो । यस किसिमको कार्यक्रम आगामी दिनमा पनि गर्दै जाने स्पार्क कारका अध्यक्ष रोशन घिमिरेले बताए । उनले भने– ‘नेपाल चिनाउने यस किसिमको अभियानलाई हामी निरन्तरता दिनेछौं ।’

सम्बन्धित समाचार