नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असोज ।


आईसीसी एकदिवसीय विश्वकप क्रिकेटममा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । शनिबार विश्वकप क्रिकेटमा कीर्तिमानी रन बनाएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले पराजित गरेको हो । श्रीलंकाविरुद्ध दक्षिण अफ्रिकाले एकदिवसीय विश्वकपमा इतिहासकै कीर्तिमानी ४२८ रन बनाएको थियो ।
शनिबार दिल्लीको अरुण जेट्ली क्रिकट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमउँदै ४२८ रन बनाएको थियो । दक्षिण अफ्रिकाको लागि एडन माक्रम, रासी वान डर डसन र क्विन्टन डिककले शतकीय पारी खेले । विश्वकप क्रिकेटमा एकै इनिङमा तीन शतक प्रहार भएको यो पहिलो पटक हो ।
दक्षिण अफ्रिकाका एडन माक्रमले ४९ बलमा शतक प्रहार गर्दै प्रतियोगिताको इतिहासमा सर्वाधिक चाँडो शतक प्रहार गरे । यसअघि आयरल्याण्डका केविन ओ ब्रायनले सन् २०११ मा इङ्ल्याण्डविरुद्ध ५० बलमा शतक प्रहार गरेका थिए । त्यस्तै रासी वान डर डसनले १०८ र क्विन्टन डिककले १०० रनको शतकीय पारी खेल्दा डेभिड मिलरले ३९, हेनरिक क्लासेनले ३२ र मार्को जानसेनले १२ रन बनाएका थिए । श्रीलंकाका लागि दिशान मदुशंकाले २ विकेट लिए भने कसुन राजिथा, डुनिथ वेललेज, मथिशा पथिरानाले समान १-१ विकेट रह्यो ।
४२९ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको श्रीलंका ४४ ओभर ५ बलमा अलआउट हुँदै ३२६ रनमा समेटियो । श्रीलंकाको लागि चरित असलांकाले ७९ कुशल मेन्डिसले ७६ र दासुन शनाकाले ६८ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कसुन राजिथा ३३ रन बनाई आउट भए भने सदीरा समरबिक्रमाले २३ र धनन्जय डी सिल्भाले ११ रन बनाए ।
दक्षिण अफ्रिकाको लागि जेराल्ड कोएत्जीले ३ विकेट लिए भने केशव महाराज, कागिसो रबाडा र मार्को जानसनले समान २-२ विकेट लिँदा लुंगी एनगिडीको भागमा एक विकेट रह्यो । प्रतियोगिता अन्तर्गत आज चेन्नईमा भारत र अष्ट्रेलिया नेपाली समय अनुसार सवा दुई बजे भिड्दै छन् ।

