पत्रपत्रिका
काठमाडौं, २३ असोज ।
एक वर्षको अवधिमा बजारमा जिराको मूल्य तेब्बरले बढेको छ । गत वर्ष प्रतिकेजी ४५० रुपियाँ रहेको जिराको मूल्य एक वर्षको अवधिमा आठ सय रुपियाँले बढेर हाल बजारमा एक हजार २५० रुपियाँदेखि एक हजार चार सय रुपियाँको हाराहारीमा पुगेको छ ।
जिरा आन्तरिक उत्पादन नभई बाहिरी मुलुकबाट आयात हुने गर्छ । भारतमा जिराको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । पाँच र छ महिनादेखि लगातार जिराको मूल्य बढ्दा त्यसको प्रभाव आमउपभोक्तालाई पर्न गएको छ । थोक बिक्रेता सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भारतमै जिराको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य बढ्न गएको बताए ।
‘भारत वा विश्वबजारमा जिराको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्ने नै हो किनभने हामीकहाँ यसको खेती छैन,’ उनले भने, ‘नेपालमा उपभोग हुने जिराको कुल परिमाणमध्ये झन्डै ९० प्रतिशत भारत र आठ प्रतिशत टर्कीबाट आयात हुन्छ, बाँकी दुई प्रतिशत कतार र बेल्जियमबाट आयात हुन्छ ।’
जिरामा नेपाल भारतमाथि निर्भर भएकाले भारतमा जिराको मूल्य उतारचढाव हुँदा त्यसको प्रत्यक्ष असर नेपालीको भान्छामा पर्ने उनको भनाइ छ ।
स्वादका लागि मसलाका रूपमा प्रयोग गरिने जिराको मूल्य बढ्दा उपभोक्ताको भान्छा महँगो हुँदै गएको छ । अन्य समयको तुलनामा चाडपर्वका बेला खपत पनि धेरै हुने गर्दछ । भारतमा उत्पादन कम हुँदा मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ ।
हाल बजार माग धान्न चीनबाट समेत जिरा आउन थालेको व्यवसायीको भनाइ छ । टर्की र इरानबाट समेत जिरा आउने गरेको छ । जिरा उत्पादनमा भारत पहिलो मुलुक हो, विश्वबजारमा जिराको मूल्य अत्यधिक बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको छ ।
व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा विभिन्न मुलुकबाट नेपालमा ४८ करोड ५६ लाख ५० हजार रुपियाँ बराबरको जिरा आयात भएको छ । मुलुकमा जिरा उत्पादन गर्न सक्ने सम्भावना भए पनि स्थानीय उत्पादन नहुँदा आयातमै भर पर्नु परेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।