विश्वकप क्रिकेटमा इङ्ल्यान्ड विजयी, बंगलादेश १३७ रनले पराजित 

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्ड विजयी भएको छ । मंगलबार भएको खेलमा इङ्ल्यान्डले बंगलादेशलाई १३७ रनले पराजित गरेको हो ।

जारी प्रतियोगितामा इङ्ल्यान्डको यो पहिलो जित हो ब हने बंगलादेशको पहिलो हार ।  इङ्ल्यान्ड पहिलो खेलमा न्युजिल्यान्डसँग ९ विकेटले पराजित भएको थियो भने बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको थियो ।



भारतको धर्मशालास्थित हिमान्चल प्रदेश क्रिकेट संघ रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३६४ रन बनाएको थियो । इङ्ल्यान्डका लागि डेविड मलानले १४० रनको शतकीय पारी खेले भने जो रुट र जोनी बेयरेस्टोले क्रमश: ८२ र ५२ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै कप्तान जोस बट्लर र ह्यारी ब्रुक्सले समान २०-२० रन बनाई आउट भए भने क्रिस वोक्सले १४ तथा साम करन र आदिल राशिदले समान ११-११ रन जोडे । बंगलादेशका लागि मेहदी हसनले ४ विकेट लिए भने सोरिफुल इस्लामले ३ विकेट लिँदा तस्किन अहमद र कप्तान साकिब अल हसनको भागमा समान १-१ विकेट रह्यो ।

३६५ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको बंगलादेश ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २२७ रनमा अल आउट भयो। बंगलादेशको लागि लिटन दाशले ७६ रनको रनको अर्धशतकीय पारी खेले भने टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मुश्फिकुर रहमान ५१ रन बनाई आउट भए भने टोव्हिद हृदोई ३९ रन जोडे ।

इङ्ल्यान्डका लागि रिस टोप्लीले ४ विकेट लिए भने क्रिस वक्सले २ विकेट लिँदा मार्क उड, लियन लिभिङ्गस्टोन र साम करनको भागमा समान १-१ विकेट रह्यो ।

सम्बन्धित समाचार