नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असोज ।


भारतमा जारी आइसिसी विश्वकप क्रिकेट प्रतियोगितामा घरेलु टोली भारतले लगातार दोस्रो जित हात पारेको छ । बुधबार भएको आफ्नो दोस्रो खेलमा अफगानिस्तानमाथि ८ विकेटको सानदार जित निकाल्दै भारतले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो ।
भारतको राजधानी नयाँ दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २७२ रन बनाएको थियो । अफगानिस्तानको लागि कप्तान हश्मातुल्लाह शाहिदी ८०, आजमतुल्लाह ओमरजाईले अर्धशतकीय पारि खेल्दै क्रमश: ८० र ६२ रन बनाए । त्यस्तै रहमाउल्लाह गुरबाज २१ रन बनाई आउट भए भने इब्राहिम जद्रानले २२, मोहम्मद नाबीले १९ र रहमात शाहले १६ रन जोडे ।
भारतका लागि जस्प्रित बुमराहले ४ विकेट लिए भने हार्दिक पान्ड्याले २ विकेट लिँदा शार्दुल ठाकुर र कुलदीप यादवको भागमा समान १-१ विकेट रह्यो । २७३ रनको लक्ष्य लिएर मैदान उत्रेको भारतले ३५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि कप्तान रोहित शर्माले ८४ बलमा १६ चौका र पाँच छक्कासहित १३१ रनको शतकीय पारी खेले । विश्वकपमा शर्माको यो सातौँ शतक हो । योसंगै शर्मा विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन् । यसअघि विश्वकपमा भारतका पूर्वकप्तान सचिन तेन्दुलकरले ६ तथा श्रीलङकाका पूर्वकप्तान कुमार सङ्गाकारा र रिक्की पोन्टिङले पाँच-पाँच शतक प्रहार गरेका थिए ।
यस्तै विराट कोहलीले ५६ बलमा ६ चौकासहित अविजित रहँदै ५५ रनको अर्धशतकीय पारी खेले भने ईशान किशनले ४७ रन बनाउँदा श्रेयस अययर २५ रनमा नट आउट रहे । अफगानिस्तानका लागि राशिद खानले २ विकेट लिए । यसअघि पहिलो खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो भने अफगानिस्तान बङ्गलादेशसित ६ विकेटले पराजित भएको थियो ।

