एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी सुरुवात, इरान २७४ रनले पराजित  

मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । बिहीबार भएको पहिलो खेलमा  नेपालले इरानलाई २७४ रनको फराकिलो अन्तरले पराजित पराजित गरेको हो ।

मलेसियाको बान्गीमा  भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ३५३ रन बनाएको थियो । नेपालको लागि कप्तान देव खनालले ५० बलमा १२ चौका र ४ छक्काको मद्दतमा १०० रन्को शतकीय पारी खेले भने दीपकप्रसाद डुम्रेले ४४ बलमा ६९ रनको अर्धशतकीय इनिंग्स खेले   । त्यस्तै दीपक बोहरा ५९ बलमा ६५ रन बनाई आउट भए भने दीपेश कँडेलले २९, हेमन्त धामीले २३, आकाश चन्दले १९ रन तथा सुभास भण्डारीले १८ रन जोडे ।



इरानका लागि दद्रहमान राइसीले र सलमान निज्मान्दले समान ३-३ विकेट लिए भने शेखी र जियाद राइसीको भागमा समान २-२ विकेट रह्यो । ३५४ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको इरान ३० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमा समेटियो ।

इरानका लागि आमेर खोर्सन्दले ३७ रन र साबेर इब्राहिमपुरले ११ रन बनाउनु बाहेक अन्य इरानी ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । इरानलाई सस्तैमा समेट्ने क्रममा नेपालका दीपेश कँडेल र सुवास भण्डारीले समान ३-३ विकेट लिएभने हेमन्त धामी र आकाश चन्दको भागमा समान २-२ विकेट लिए । अब नेपालले दोस्रो खेल असोज २८ गते बहराइनसँग खेल्नेछ ।

प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा एसियाका विभिन्न १६ एशोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । सो प्रतियोगितालाई विभिन्न चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा  नेपालसहित बहराइन, साउदी अरेविया र इरान छन् भने समूह ‘बी’ मा युएई, ओमान, कतार र चीन छन् । त्यसैगरी समूह ‘सी’ मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा हङकङ, मलेसिया जापान र इन्डोनोसिया छन् । प्रतियोगिताका शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू-१९ एसिया कप खेल्न पाउनेछन् ।

सम्बन्धित समाचार