नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ असोज ।


भारतमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तान पहिलो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा साविक विजेता इङ्ग्ल्यान्डलाई ६९ रनले पराजित गर्दै अफगानिस्तानले प्रतियोगितामा पहिलो जित गर्त गरेको हो ।
जारी प्रतियोगितामा इङ्ग्ल्यान्डको भने यो दोस्रो हार हो । भारतको दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २८४ रन बनाएको थियो । अफगानिस्तानको लागि रहमान उल्लाह गुरबाज र इक्रम अलीखिलले अर्धशतकीय पारी खेल्दै क्रमश: ८० र ५८ रन बनाए भने इब्राहिम जद्रानले २८ रन बनाए ।
त्यस्तै मुजिब उर रहमान २८ रन बनाई आउट भए भने राशिद खानले २३, हश्मातुल्लाह शाहिदीले १४, आजमतुल्लाह ओमरजाईले १९ र मोहम्मद नाबीले ९ रन जोडे । इङ्ग्ल्यान्डका लागि आदिल राशिदले ३ विकेट लिए भने, मार्क वुडले २ विकेट लिँदा जो रुट, रिस टोप्ली र लियाम लिभिङस्टोनको भागमा समान १-१ विकेट रह्यो ।
२८५ रनको लक्ष्य लिएर मैदान उत्रेको इङ्ग्ल्यान्ड ४० दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २१५ रनमा समेटियो । इङ्ग्ल्यान्डका लागि ह्यारी ब्रुकले ६६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै डेविड मलानले ३२ रन जोड्दा आदिल रशिदले २०, मार्क वुडले १८, रेशी टोप्लेले १५, जोय रुटले ११ तथा लियाम लिभिङस्टोन र शाम कुरनले समान १०-१० रन बनाए ।
अफगानिस्तानका लागि राशिद खान र मुजिब उर रहमानले समान ३-३ विकेट लिए भने मोहम्मद नवीले २ विकेट लिँदा फजलहक फरुकी र नभिन उल हकको भागमा समान १-१ विकेट रह्यो । अफगानिस्तानले विश्वकप क्रिकेटमा लगातार १४ हार पछि पहिलो जित हासिल गरेको हो । यसअघि अफगानिस्तानले विश्वकपमा सन् २०१५ मा स्कटल्यान्डलाई एक विकेटले पराजित गर्दै पहिलो जित हासिल गरेको थियो ।

