नेपाल अपराजित रहँदै एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा, साउदी अरेबिया ३०१ रनले पराजित 

नेपाल अपराजित रहँदै एसीसी उन्नाईस वर्षमुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

मलेसियाको युएसडी–युकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रन बनाएको थियो । नेपालका लागि अर्जुन कुमालले १४२ रनको शतकीय पारी खेले भने आकाश त्रिपाठीले ८९ रनको अर्धशतकीय इनिङ्ग खेले । त्यस्तै दीपक बोहोरा २९ रन बनाई आउट भए भने दीपकप्रकाश डुम्रेले १४, मिलन बोहराले ९ र दीपेश कँडेलले १४ रन जोड्दा विशालविक्रम केसी २४ रनमा अविजित रहे ।



साउदीका लागि मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले समान २-२ विकेट लिए भने जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानको भागमा समान १-१ विकेट रह्यो । ३४८ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको साउदी अरब १९ दशमवल १ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमा समेटियो । साउदीका लागि बरुण मुदालियरले २५ बलमा सर्वाधिक ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि दिपेश कँडेलले ६ विकेट लिए भने आकाश चन्दले २ विकेट लिँदा सुभाष भण्डारीलको भागमा १ विकेट रह्यो । जितसँगै नेपाल समूह ‘ए’को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो । अब नेपालले सेमिफाइनलमा समूह ‘डि’को विजेतासँग खेल्नेछ । नेपलाले पहिलो खेलमा इरानलाई २७४ रनले र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो ।

 

 

सम्बन्धित समाचार