नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ कार्तिक ।
मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा जापानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा जापानलाई डकवर्थ लेविस पद्धतिमा १४४ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
फाइनलमा प्रवेश गरेसँगै नेपाल पाकिस्तानमा हुने यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि पनि छनोट भएको छ । नेपालले सुरुआती ब्याटिङ गर्दा २५ ओभरमा २ विकेट गुमाएर १४० रन बनाएपछि वर्षाले खेल प्रभावित बनेको थियो ।
लामो समयसम्म वर्षाले खेल प्रभावित भएपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर २२ ओभरमा झारिएको थियो । नेपालका लागि ओपनर दिपक बोहरा ७९ रनको अर्धशतकीय पारी खेले भने आकाश त्रिपाठीले ३५ रन बनाए । त्यस्तै अर्जुन कुमाल १० तथा कप्तान देव खनाल ८ रन जोडे ।
जापानका लागि कजुमा काटो स्टेफोर्ड र किफर यामामोटोले समान १-१ विकेट लिए । जापानले २२ ओभरमा जितका लागि १८७ रनको लक्ष्य पाएको थियो । जापान ११ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४३ रनमा समेटियो । जापानका लागी शोतारो हिरात्सुकाको १५ र किफर यामामोटोको १३ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालका लागि हेमन्त धामी र दीपेश कँडेलले समान ३–३ विकेट लिए भने सुभाष भण्डारीले २ विकेट लिँदा आकाश चन्दको नाममा १ विकेट रह्यो । अब नेपालले कात्तिक ७ गते हुने फाइनल खेलमा युएईको सामना गर्नेछ । युएईले अर्को सेमिफाइनलमा खेलमा सिङ्गापुरलाई पराजित गर्दै फाइनल पुगेको हो ।