त्रिकोणात्मक टि-२० सिरिज : हङकङलाई पराजित गर्दै नेपाल फाइनलमा  

काठमाडौँमा जारी त्रिकोणात्मक टि-२० सिरिजमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा  हङकङलाई ७९ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन बनाएको थियो । नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेल्दै क्रमश: ९२ र ५७ रन बनाए । यी दुईले पाँचौं विकेटको लागि १४५ रनको साझेदारी गरेका थिए । त्यस्तै आशिफ शेखले २० रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ११ रन जोडे ।



हङकङका लागि मोहमद घजन्फरले २ विकेट लिए भने आयुष शुक्ला, हरुन अर्षद र एजाज खानको भागमा समान १-१ विकेट रह्यो । २१४ रनको लक्ष्य लिएर मैदान उत्रेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्र  बनाउन सक्यो । हङकङका लागि अंशुमन रथले सर्वाधिक ४५ रनको योगदान दिए भने बाबर हायातले  २० र एजाज खानले २५ रन जोडे ।

नेपालका लागि सोमपाल कामी, करण केसी र ललित राजवंशीले समान २-२ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी र प्रतिश जिसिको भागमा समान १-१ विकेट रह्यो । अब नेपालले यही असोज ६ गते यूएईसँग खेल्नेछ । नेपालले यसअघि भएको पहिलो खेलमा यूएईलाई ७ विकेटले र दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।

सम्बन्धित समाचार