एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, यूएई १९ रनले पराजित  

एसीसी यू-१९ प्रिमियर कपको उपाधि नेपालले जितेको छ । मंगलबार भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले अपराजित रहँदै उपाधि जितेको हो ।

मलेसियाको बायोमास ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८० रन बनाएको थियो । २८१ रनको लक्ष्य सहित मैदानमा उत्रिएको यूएईले ११ ओभरमा २ विकेटको क्षतिमा ५० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।



वर्षा रोकिएपछि डकवर्थ लेविस नियमका आधारमा यूएईले २७ ओभरमा १९८ रनको लक्ष्य प्राप्त गरेको थियो । नयाँ लक्ष्य पाएको यूएई २६ दशमलव पाँच ओभर १७८ रन बनाउँदा अलआउट भयो । यूएईका लागि ध्रुब परेशारलले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले भने अर्यांश शर्माले ३२ रन बनाउँदा कप्तान आयन खानले  ३० रनको योगदान गरे । नेपालका लागि नेपालका आकाश त्रिपाठीले ४ विकेट लिए भने सुवास भण्डारीले ३ विकेट लिँदा आकाश चन्द र हेमन्त धामीको भागमा समान १-१ विकेट रह्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि देव खनालले १०० रनको शतकीय पारी खेले भने उत्तम थापा मगरले ५७ र अर्जुन कुमालले ५५ रनको अर्धशतकीय इनिङ्ग खेले ।यस्तै  दीपक डुम्रेले २८ रन बनाई आउट भए  भने दीपेश कँडेलले १० रन जोडे। यूएईका लागि हरित शेठ्ठीले ५ विकेट लिए भने कप्तान आयन खानले २ विकेट लिए ।

नेपाल अपराजित रहँदै च्याम्पियन भयो । नेपालसँगै युएई र जापानले एसिया कपमा स्थान बनाएका छन् । प्रतियोगिताको उत्कृष्ट तीन टोलीले एसिया कपमा स्थान बनाएका हुन् । समूह ‘ए’ मा नेपालले पाकिस्तान र भारत र युएईसँग खेल्नेछ भने  समूह ‘बी‘ मा अफगानिस्तान, बंगलादेश, श्रीलंका र जापान रहेका छन् ।

 

सम्बन्धित समाचार