विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाद्वारा बंगलादेश १४९ रनले पराजित

भारतमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । मंगलबार भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १४९ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

जारी प्रतियोगितामा दक्षिण अफ्रिकाको यो चौथों जित हो भने बंगलादेशको चौथों हार । मुम्बईको वानखडे रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५विकेट गुमाउँदै ३८२ रनको विशाल स्कोर बनाएको थियो । दक्षिण अफ्रिकाको लागि क्विन्टन डि ककले १७४ रनको शतकीय पारी खेले भने हेइन्रिक क्लासेन र कप्तान आइडेन माक्र्रमले क्रमश: ९० र  ६० रनको अर्धशतकीय पारी खेले ।



त्यस्तै डेभिड मिलर ३४ रनमा अविजित रहे । बंगलादेशको लागि हसम महमुदले २विकेट लिए भने मेहिदी हसन मिराज, शकिब अल हसन र शोरिफुल इस्लामको भागमा समान १-१ विकेट रह्यो । ३८३ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको बंगलादेश ४६.४ ओभरमा अलआउट हुँदै २३३ रनमा समेटियो ।

बंगलादेशको लागि महमुदिल्लाहले १११ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनी बाहेक बंगलादेशका अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । दक्षिण अफ्रिकाको लागि जेराल्ड कोट्जेले ३ विकेट लिए भने मार्को जनसेन, लजाद विलियम्स र कागिसो रबडाको भागमा समान १-१ विकेट रह्यो ।

जितसँगै दक्षिण अफ्रिका ५ खेलमा ४ जित र १ हारसहित ८ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने समान खेलमा १ जित र ४ हारसहित दुई अंक जोडेको बंगलादेश तालिकाको पुछारमा रहेको छ ।

 

सम्बन्धित समाचार