नेपाललाई पराजित गर्दै यूएईले जित्यो त्रिकोणात्मक टी–२० सिरिजको उपाधि

काठमाडौँमा सम्पन्न त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स (यूएई)ले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले उपाधि जितेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले २८ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा ५० रनको अर्धशतकीय पारी खेले भने करण केसी २३ रनमा अविजित रहे । त्यस्तै दीपेन्द्रसिंह ऐरी २० रन बनाई आउट भए भने कप्तान रोहितकुमार पौडेलले १८ रन जोडे ।



यूएईका लागि आयन अफ्जल खानले ३ विकेट लिए भने जाहुर खान र अली नासिरले समान २-२ विकेट लिँदा जुनैद शिद्धिकीको भागमा एक विकेट रह्यो । १६३ रनको लक्ष्य लिएर मैदान उत्रेको यूएईले १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाउदै पूरा गर्यो । युएईका लागि कप्तान मोहम्मद वासिमले सवाधिक ४५ रनको योगदान दिए भने वृत्य अरविन्दले २६ रन बनाए ।

यस्तै आर्यान्स शमा २५ रन बनाई आउट भए भने बसिल हमिदले २२, अलिसान शरर्फुले १३ र अलि नासिरले ११ रन जोडे । नेपालका लागि अविनाश बोहरा र गुल्सन झाले समान २ विकेट लिए भने कुशल मल्लको भागमा एक विकेट रह्यो ।

यसअघि लिग चरणको खेलमा नेपालले युएई र हङ्कङविरुद्ध भएको चार खेल जित्दै अपराजित रहँदै फाइनल प्रवेश गरेको थियो । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले, दोस्रो खेलमा हङ्कङलाई ६ विकेटले तेस्रो खेलमा पुन: हङ्कङलाई ७९ रनले र अन्तिम खेलमा युएईलाई ५ विकेटले पराजित गरेको थियो ।

यता यूएईले भने एक खेलमात्रै जितेको थियो । हङ्कङलाई नेट रनरेटले पछि पार्दै यूएई फाइनलमा पुगेको थियो । यूएईले पहिलो खेलमा हङ्कङलाई ६ विकेट हराएको थियो भने दोस्रो खेलमा हङ्कङसँग ६९ रनले पराजित भएको थियो ।

 

सम्बन्धित समाचार