नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ कार्तिक ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाल्पा, माथागढी गाउँपालिका-१ बिरौटास्थित सडकमा लु.१४ प ८८७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक स्याङ्जा जगतभन्ज्याङ बस्ने ४१ वर्षीय मोहनीलाल थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै बारा, जितपुरसिमरा उपमहानगरपालिका-२ सिमरा चोकमा ना।७ ख ४७४९ नम्बरको बस पोलमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा बसमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूषको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल गण्डक पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार ४ जनाको सोही अस्पताल, ५ जनाको अल्पाइन अस्पताल सिमारा र २ जनाको एल एस न्युरो परवानिपुरमा उपचार भइरहेको छ ।
हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।