नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ कार्तिक ।
आइसिसी ट्वान्टी -२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाल र सिंगापुर भिड्दै छन् । आज (सोमबार) कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सरु हुनेछ ।
नेपाल आज सिंगापुरलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्ने योजनाका साथ मैदान उत्रदै छ भने सिंगापुर पनि घरेलु टोलीलाई पराजित गर्दै प्रतियोगतामा सुखर सुरुवात गर्ने दाउमा रहेको छ ।
त्रिवि र मुलपानी क्रिकेट मैदानमा हुने छनोट कार्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ । समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् भने समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत रहेका छन् ।
आज पहिलो खेल खेल्न लागेको नेपालले दोस्रो खेल मलेसियासँग कार्तिक १४ गते र तेस्रो खेल कार्तिक १६ गते ओमानसँग खेल्नेछ । यस विश्वकप छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्न पाउने छन् ।