विश्वकप क्रिकेटमा भारतद्वारा इङ्ल्यान्ड १०० रनले पराजित 

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा घरेलु टोली भारत विजयी भएको छ । सोमबार भएको खेलमा भारतले इङ्ल्यान्ड १०० रनले पराजित गरेको हो ।

जारी प्रतियोगितामा भारतको योलगातार छैटौं जित हो भने इङ्ल्यान्डको लगातार पाँचौं हार । लखनउस्थित एकान क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २२९ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले  ८७ रनको अर्धशतकीय पारी खेले भने  सूर्यकुमार यादवले ४९ रन बनाए । त्यस्तै केएल राहुल ३९ रन बनाई आउट भए भने जसप्रित बुमराहले १६ रन जोडे ।



इङ्ल्यान्डका लागि डेविड विलीले ३ विकेट लिए भने क्रिस वोक्स र आदिल राशिदले समान २ विकेट लिँदा मार्क उडको भागमा एक विकेट रह्यो । २३० रनको लक्ष्य लिएर मैदान उत्रेको इङ्ल्यान्ड ३४.५ ओभरमा १२९ रनमै अल आउट भयो ।इङ्ल्यान्डका लागि लियम लिभिङ्गस्टोले २७ रन बनाए भने डेविड विलीले १६ रनमा अविजित ।यस्तै डेविड मलानले १६, मोइन अलीले १५, जोनी बेरिस्टोले १४ र आदिल राशिदले १३ रन जोडे ।

भारतका लागि मोहम्मद शामीले ४ विकेट लिए भने जसप्रित बुमराहले ३ विकेट लिँदा कुलदिप यादवले २ र रविन्द्र जडेजाको भागमा एक विकेट रह्यो । जितसँगै भारत ६ खेलमा १२ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलमा १ जित र ५ हारसहित २ अंक जोडेको इङ्ल्यान्ड तालिकाको पुछारमा रहेको छ ।

 

सम्बन्धित समाचार