नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ कार्तिक ।
अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले कीर्तिमानी आठौँ पटक बालोन डी ओर अवार्ड जितेका छन् । सन् २०२२ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी ओर जिते । फ्रान्सको पेरिसमा मेस्सीले म्यानचेस्टर सिटी तथा नर्वेका एर्लिङ हाल्यान्ड र फ्रान्सका एमबाप्पेलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
मेस्सी ८ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । मेस्सीले यस अघि यस अघि मेस्सीले २००९, २०१०, २०११, २०१२, २०१५ , २०१९ र २०२१ मा यस अवार्ड जितेका थिए । मेस्सीपछि रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् । गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकपको उपाधि मेसीकै कप्तानीमा अर्जेन्टिनाले जितेको थियो । अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाउन मेसी प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिएका थिए ।
त्यस्तै महिलातर्फको अवार्ड बार्सिलोना तथा स्पेनकी मिडफिल्डर ऐटना बोनमतीले जितेकी छिन् । २५ वर्षीय बोनमतीले स्पेनलाई फिफा विश्वकप जिताएकी हुन् । यस्तै म्यानचेस्टर सिटीले क्लब अफ दि इयरको अवार्ड जित्दा इङ्ल्यान्ड तथा रियाल मड्रिडका स्ट्राइकर जुड वेलिंघम युवा पुरस्कार प्राप्त गरे ।
यसैगरी अर्जेन्टिनाका विश्व विजेता गोलकिपर इमिलियानो मार्टिनजेल उत्कृष्ट गोलकिपरको अवार्ड जिते । त्यसका लागि उनले यासिन ट्रफी जिते । महिलातर्फ बार्सिलोनाले क्लब अफ दी इअरको अवार्ड पायो ।