नेपाल लगातार दोस्रो जित निकाल्दै ट्वान्टी-२० विश्वकप एशिया छनोटको सेमिफाइनलमा   

आइसिसी ट्वान्टी-२० विश्वकप एशिया छनोटमा नेपालले लगातार दोस्रो जित हात पार्दै सेमिफाइनलमा प्रवेश  गरेको छ । मंगलबार भएको आफ्नो दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको  हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो । मलेसियाका लागि अजिजले ६८ रनको अर्धशतकीय पारी खेले भने जुबैदी जुल्किफ्ली २४, विजय उन्नीले अविजित १३ र शार्भिन मुनिएन्डीले १३ रन बनाए ।



नेपालका लागि अविनाश बोहराले ४ विकेट लिए भने सन्दीप लामिछाने, कप्तान रोहितकुमार पौडेल र गुल्शन झाको भागमा समान १-१ विकेट रह्यो । १६६ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जीतका लागि कुशल मल्लले बिस्फोटक ब्याटिङ गर्दैै ३४ मा सात छक्का र दुई चौकासहित ६५ रनको अर्धशतकीय पारी खेले भने ओपनर कुशल भुर्तेलले ४३ रन बनाए । यस्तै आशिफ शेख ३२ रन बनाई आउट भए भने सन्दीप जोराले १८ र कप्तान रोहित पौडेल र विवेक यादवले समान २-२ रन बनाए ।

मलेसियाका लागि मोहम्मद अमिरले ३ विकेट लिए भनेपवनदीप सिंहको भागमा एक विकेट रह्यो । अब नेपालले तेस्रो खेल बिहीबार ओमानसँग खेल्नेछ । विभिन्न आठ टोली सहभागी उक्त प्रतियोगितामा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले आगामी सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा संयुक्तरुपमा आयोजना हुने टि-२० विश्वकप खेल्न पाउनेछन् ।

विश्वकपको एशिया छनोटअन्तर्गत समूह ए मा आयोजक नेपालसहित मलेसिया, सिङ्गापुर र ओमान छन् । त्यस्तै समूह बी मा युएई, हङ्कङ, बहराइन र कुवेत रहेका छन् ।

सम्बन्धित समाचार