दुर्गा प्रसाईको हुङ्कारमा तरङ्गित नेपालको राजनीति

सर्वदलीय बैठकमा उपस्थित नेताहरूले सामुहिक रूपमा स्वीकार गरे कि नेपालमा व्यवस्था विरोधी आवाजहरू अथवा परिवर्तन विरोधी स्वरहरू जुर्मुराइरहेका छन् । उनीहरूले ती स्वरहरूमा दुर्गा प्रसाईलगायत राजावादीहरूको स्वर मिसिएको सङ्केत गरे । अथवा हतास मनस्थितिमा उनीहरूले आफ्नो अनुहारको कालो दाग देखेनन् बरु बैठकमा भेला भएर ऐना पुछ्ने औपचारिकता पूरा गरे ।

दुर्गा प्रसाईहरूले निकट भविष्यमा गर्ने भनिएको कथित् भेलाबाट नेपालका परिवर्तनकारी शक्तिहरू आत्तिएपछि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले केही दिनअगाडि हतारमा एउटा सर्वदलीय बैठकको आव्हान गरेका थिए । चुनावबाट राष्ट्रिय दलको मान्यता पाएका राप्रपा र रास्वपाजस्ता दलहरूलाई साइड लगाएर गरिएको बैठकमा उपस्थित दलका नेताहरूले नेपालको राजनीतिमा कालो बादलले घेरा हालेको देखे तर त्यसको कारणको खोजी भने गरेनन् । किनकि उनीहरूलाई राम्रोसँग थाहा थियो, त्यस कालो बादलको कारण उनीहरू स्वयम् हुन् भनेर ।



दाहाल, ओली, देउवा, नेपाल, खनाल, भट्टराई आदि आलोपालो सरकारमा पुगेकै हुन् । उनीहरूले चुनावका बेला देश र जनताका पक्षमा जतिसुकै सुन्दर नारा लगाएका भएपनि कर्ममा उनीहरूले आफू र आफ्नाबाहेक अरूका कामै गरेनन् । राजालाई हटाएर आफूहरू महाराज बन्ने कोसिस गरे । भ्रष्टाचारले संस्थागत हुने अवसर पायो । समृद्धिका कुरा नारामा सीमित बने । उनीहरूले गर्नुपर्नेबाहेक सबै काम गरे । अनि, पाप धुरीबाट कराउने बेला आएपछि दुर्गा प्रसाईको हुङ्कारबाट तरङ्गित बने र आफ्नै छायासँग डराउन थाले ।

सबै कुराको हद हुन्छ । लोकतान्त्रिक आन्दोलनमा हिजो खेलेकै भूमिकाको आधारमा सधैं अराजक हुने छुट जनताले दिन सक्तैनन् । जनता लोकतन्त्रको नाममा सीमित व्यक्तिले देश लुटेको दृश्य सधैं टुलुटुलु हेरेर बस्न पनि सक्तैनन् । व्यक्ति आफ्नै कर्मले हिरो वा जिरो बन्ने हो । पटकपटक पाएको अवसरलाई सदुपयोग गर्न नसकेपछि हिरो बन्न अवसर गुमाएर जिरो बनेका हुन् । आफ्नो राजनीतिक कद आफैं घटाएका हुन् । नेतृत्वको मानसिक कमजोरी र आत्मकेन्द्री निर्णय गर्ने बानीले मुलुक प्रताडित बनेको हो ।

दुर्गा प्रसाईलाई ‘दुर्गा प्रसाई’ बनाउनेहरू पनि उनीहरू नै हुन् । उनीहरूको एजेण्डामा हिँडुल्जेल दुर्गा प्रसाई महान् थिए । स्वार्थ बाझिएपछि मात्र प्रसाई आँखाको कसिँगर बनेका हुन् । प्रत्येक क्रियाको बराबरी तर उल्टो प्रतिक्रिया हुन्छ भन्ने विज्ञानको सूत्रझैं आज उनै दुर्गा नवदुर्गा बनेर उनीहरूलाई तर्साइरहेछन् । प्रचण्ड र ओलीको सानिध्य र तालिम पाएका प्रसाई अहिले चतुर खेलाडी बनिसकेका छन् । आजका दिन गुरुहरूको भेलामा भन्दा चेलाका सभामा ठूलो भीड जम्मा हुन थालेको छ । गुरुहरूलाई अबका दिनमा दुर्गालाई किनाराकृत गर्न पनि त्यति सहज छैन । दुर्गालाई ज्वरो आयो भने पनि त्यसको रापले ओलीहरूलाई पोल्न सक्छ ।

प्रसाईलाई राजनीतिको छक्कापञ्जा पनि ओली र प्रचण्डहरूले नै सिकाएका हुन् । अहिले दुर्गाको स्वरमा धेरैले आफ्ना पीडाहरू पनि मुखरित भएको महसुस गर्न थालेका छन् । त्यसैले एकाएक दुर्गाको सार्वजनिक व्यक्तित्वको आयतन वृद्धि हुँदै जाँदा भ्रष्टाचारका पक्षपोषकहरू भयभीत बनेका हुन् । किनकि दुर्गालाई भ्रष्टाचारका जराहरू कहाँ कहाँ पुगेका छन् भन्ने कुरा राम्ररी थाहा हुन सक्छ ।

राजाको त के कुरा गर्नु ? परिवर्तनकारी नेताहरू अभिनेता नभएर जनताकै नेता भइदिएको भए नेपालमा राजा थिए भन्ने कुरो इतिहास बनिसक्थ्यो । नेताहरू चरम बेइमान भएर निस्किएकै कारण ‘बरू राजा नै ठीक’ हुन पुगेका हुन् । हिजो राजतन्त्रका विरोधमा सडकभरि फैलिएका पाइलाहरू नै आज राजाका पक्षमा पुनः सडकमा नै जाने सोच बनाउँदै छन् । राजा आउने बित्तिकै समृद्धिको वर्षा हुँदैन भन्ने कुरा स्वयम् राजाले र राजावादीहरू सबैले बुझिसकेका छन् तर नेताहरूको नाटक हेर्दा हेर्दा वाक्क बनेकाहरूको लहर राजातिर देखिएको हो । त्यसैले व्यवस्थाविरोधी आवाजहरू जुनसुकै रूपमा मुखरित भए भने पनि त्यसको कारक तत्त्व भनेको सत्ता दुरुपयोग गर्ने शक्तिहरू र उनीहरूको अकर्मण्यता नै हो ।

भूपि शेरचनको घुम्ने मेचमा अहिले पुष्पकमल दाहाल विराजमान छन् । कुर्सीमा पुग्दैगर्दा उनले सुशासनको चर्का नारा लगाएका थिए । धेरैलाई यसपटक केही गर्छन् कि जस्तो लागेको पनि थियो । शुरुमा भ्रष्टाचारका केही फाइल खोलेजस्तो गरेर नेपाली समाजलाई तरङ्गित पनि बनाए तर यो सब उनको एउटा स्टण्ड मात्र सावित भयो । क्यान्टोनमेनमा भएको अनियमितता र सुन काण्डमा विवादित बनेका कृष्णबहादुर महराको मुद्दा नउठाउने शर्तमा दाहालले ललिता निवास काण्ड, सुन काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, वाइड बडी काण्ड, गिरीबन्धु टि स्टेटलगायतका देशको हितविपरीतका सबै काण्डहरू तुहाइदिएका हुनसक्छन् ।

दुर्गा प्रसाईको पछिल्लो अभिव्यक्ति कम्बोडियामा ओलीको अरबौंको लगानी भएको खुलासाले ओलीको मात्र होइन, अधिकांश शीर्ष नेताको निद्रा हराम गरायो । प्रसाईले उठाएका सवालको निष्पक्ष छानविन गर्नुपर्नेमा आफ्नो पनि पोल खोलिने डरले सबै प्रतिकारका लागि एकजुट बने । यहाँ बुढी मरेकीमा ठूलो चिन्ता होइन, काल पल्केला कि भन्ने सबैको भय हो । किनभने अधिकांश शीर्ष नेतासँग अकुत कालो धन हुनसक्छ । अन्यथा कुनै राम्रो आयमूलक स्रोत नभएका यिनीहरू जुन लेभलको विलासी जीवन भोगिरहेका छन्, त्यो सम्भव हुने कुरै होइन ।

अनि प्रश्न उठ्छ, ०६२÷६३ पछि उदाएका सामान्य आर्थिक अवस्था भएका नेताहरू एकाएक कसरी अरबपति भए ? जनताचाहिँ सधैं गरिबको गरिब हुने अनि नेताचाहिँ छोटो अवधिमा नै धनाड्य हुने कसरी सम्भव हुन्छ ? नत्र करोडौंका घर–गाडी, अरबौंको सम्पत्ति, महिनाको लाखौं तिर्नुपर्ने स्कुलमा सन्तानको शिक्षा, विमान चार्टर गरेर गरिने शयर, सामन्त शासकको जस्तो दैनिकी कसरी सम्भव हुन्छ ? सुशासन र सदाचारको नारा लगाउने सरकारले यसको आधार खोजी गर्नु पर्दैन ?

जनताले भेद थाहा नपाएका होइनन् तर नेतृत्वमा अझै सुधारको अपेक्षा गरेका मात्र हुन् । जनता सधैं ढाँटिन सक्तैनन् । उनीहरूको सहिष्णुताले सीमा नाघेको दिन नेपालका खलनायकहरूले पनि श्रीलङ्काका महेन्द्र राजपाक्षेको नियति भोग्नु नपर्ला भन्न सकिन्न ।

सम्बन्धित समाचार