सवारी दुर्घटनामा छ जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-११ सिंहदरबार दक्षिण गेट नजिक माईतिघर मण्डलाबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदै गरेको बा।५७ प ७३५९ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक ईलाम घर भई हाल काठमाडौं महानगरपालिका-१० थापागाउँ बस्ने २३ वर्षीया रितु सुवेदीको मृत्यु भएको छ ।

आइतबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । यता बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकमा ना।१ ज ४६८६ नम्बरको टाटासुमो गाडीले बा.८८ प ३८१८ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका १ जना पुरूषको मृत्यु भएको छ ।



दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा र सुमोमा सवार १ जनाको स्थानीय कार्की हस्पिटल अमलेखगञ्जमा उपचार भइरहेको छ । दुवै सवारी साधन र सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै कञ्चनपुर, पुनर्वास नगरपालिका-३ स्थित सडकमा मे.१ च ४१५ नम्बरको जिपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६३ वर्षीय मानबहादुर तामाङको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-४ चाँदनीस्थित सडकमा झोलुंगेबाट चाँदनीतर्फ जाँदै गरेको युए ०४ सि १३०६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ लठ्ठाघाट बस्ने ५५ वर्षीय झुसे बोहराको आइतबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको दोधारा चाँदनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङको पुलमा ना.६५ प ७०५५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-४ कमलडाडा बस्ने २२ वर्षीय महेन थापा मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।

यसैगरी कैलाली, भजनी नगरपालिका-६ स्थित सडकमा सु.प.प्र.०१००९ प११२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय तारा चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार