नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० कार्तिक ।
घरेलु टोली भारत आईसिसि एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले पराजित भारत फाइनलमा प्रवेश गरेको हो ।
मुम्बईको वांखडे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै ३ सय ९७ रन बनाएको थियो । भारतको लागि विराट कोहली र श्रेयस अय्यरले शतकीय पारी खेल्दै क्रमश: ११७ र १०५ रन बनाए । कोहलीले करिअरको ५० औं एकदिवसीय शतक प्रहार गर्दै सचिन तेन्दुलकरको कीर्तिमान भंग गरे ।
त्यस्तै शुभमन गिलले ८० रन बनाउँदा रोहित शर्माले ४७ र केएल राहुल ३९ रनमा अविजित रहे । न्युजिल्यान्डका लागि टिम साउदीले २ विकेट लिए भने ट्रेन्ट बोल्टको भागमा एक विकेट रह्यो । भारतले प्रस्तुत गरेको ३ सय ९८ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको न्युजिल्यान्ड ४८.५ ओभरमा सबै विकेट गुमाउँदै ३ सय २७ रनमात्र बनाउन सक्यो ।
न्युजिल्यान्डका ड्यारी मिचेलले सर्वाधिक १३४ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान केन विलियमसनले ६९ रनको अर्धशतकीय पारी खेले भने ग्लेन फ्लिप्सले ४१ डेभन कनवे र रचिन रविन्द्रले समान १३-१३ रन जोडे ।
भारतको लागि मोहम्मद शामीले ७ विकेट लिए भने जसप्रित बुमराह, मोहमद सिराज र कुलदीप यादवको भागमा समान १-१ विकेट रह्यो । भारत चौथो पटक फाइनल प्रवेश गरेको हो । यसअघि भारत १९८३, २००३ र २०११ मा एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । अब भारतले उपाधिको लागि बिहीबार हुने दक्षिण अफ्रिका र अस्ट्रेलियाबिचको विजेतासँग आगामी आइतबार खेल्नेछ ।