दक्षिण अफ्रिकालाई पराजित अस्ट्रेलिया एकदिवसीय विश्वकपको फाइनलमा, उपाधिको लागि भारतसँग खेल्ने 

अस्ट्रेलिया आईसिसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो ।

कोलकत्ताको इडेन गार्डेनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको थियो । दक्षिण अफ्रिकाको लागि डेभिड मिलरले १०१ रनको शतकीय पारी खेले भने हेनरीच क्लासेनले ४७ रन बनाए । ११.५ ओभरमा २४–४ को अवस्थामा रहेको दक्षिण अफ्रिकाको पारी यी दुईले पाँचौं विकेटको लागि ९५ रनको साझेदारी गर्दै उकासेका थिए ।



अस्ट्रेलियाका लागि मिचल स्टार्क र प्याट कमिन्सले समान ३-३ विकेट लिए भने जस हैजलवूड र ट्राभिस हेडको भागमा समान २-२विकेट रह्यो । २१३ रनको लक्ष्य लिएर मैदान उत्रेको अस्ट्रेलियाले ४७.२ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । अस्ट्रेलियाको लागि ट्राभिस हेडले ६२ रनको अर्धशतकीय पारी खेले भने स्टेभन स्मिथले ३० रन बनाए  । यस्ती डेविड वार्नरले २९ रन बनाई आउट भए भने जस इङ्लिसले २८ रन जोड्दा मिचेल स्टार्क १६ र प्याट कमिन्स १४ रनमा अविजित रहे । दक्षिण अफ्रिकाको लागि गेराल्ड कोट्जे र तब्राइज शाम्सीले समान २-२ विकेट लिए भने कागीसो रबाडा, केशव महाराज र एदें मार्क्रमको भागमा समान १-१ विकेट रह्यो ।

जितसँगै अस्ट्रेलिया एकदिवसीय विश्वकपमा आठौं पटक फाइनल प्रवेश गरेको छ भने दक्षिण अफ्रिका पुन: एकपटक अभागि सावित हुँदै पाँचौं पटक सेमिफाइनलबाटै बाहिरिएको छ । अब अस्ट्रेलियाले उपाधिको लागि आइतबार घरेलु टोली भारतसँग खेल्नेछ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारत फाइनलमा प्रवेश गरिसकेको छ ।

 

सम्बन्धित समाचार