नवकान्तिपुर संवाददाता
काठमाडौं, २ मंसिर ।
चर्चित गायिका, एमाले नेतृ तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल ओलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौंको एक अस्पतालमा निधन भएको हो । उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरुले घोषणा गरेका हुन् ।
हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडिदेखि बिमार ओलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।
१९९८ सालमा रोल्पामा जन्मिएकी दीपा ओलीले संकलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको हो । दीपा ओलीको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।
दीपा ललित ट्रष्टकी संरक्षक रहेकी दीपा ओली २०४३ सालमा राप्ती अञ्चल महिला संगठनमा उपसभापति भएकी थिइन् । उनी नेपाल रेडक्रसकी आजीवन सदस्य पनि हुन् । उनका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।