अनाम शर्मा
काठमाडौं, ३ मंसिर ।
व्यवसायी दुर्गा प्रसाईले एकाएक नेपालका पुराना राजनीतिक पार्टीका शीर्ष नेताहरूको निद्रा हराम गरिदिएका छन् । मंसिर ७ गते काठमाडौंमा उनले गर्ने भनिएको विशाल प्रदर्शनको समाचारले नेताहरूको दैनिकी, अमनचैन र निद्रा हराम भएको हो । प्रधानमन्त्री प्रचण्ड र एमाले नेता केपी ओलीहरू यस कारण पनि बढी त्रसित छन् कि हिजो दुर्गा प्रसाईले उनीहरूको खोपीसम्मको पहुँच बनाएका थिए र उनीहरूका सबल र दुर्बल पक्षहरूका बारेमा राम्रो जानकारी राख्दथे । त्यसैले प्रसाईले त्यस विशाल प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा उनीहरूका काला कर्तुतका पोका प्रसाईले खोलिदेलान कि भनेर मात्र हो । यदि प्रसाईले त्यो आँट गरे भने दाहाल र ओलीहरूले मात्र होइन, सत्ताको दुरुपयोग गर्ने पूर्व प्रधानमन्त्रीहरू कसैले पनि लुक्ने ठाउँ पाउने छैनन् ।
आज सर्वसाधारण मात्र होइन, कतिपय डाक्टर, वकील, बुद्धिजीवी, पेशाकर्मी, सञ्चारकर्मी तथा व्यवसायीहरूले पनि दुर्गा प्रसाईले उठाएका मुद्दाहरूप्रति आफ्नो सकारात्मक धारणा रहेको अभिव्यक्ति दिइरहेका छन् । आम जनताका भोगिरहेका पीडा र व्यथाका पक्षमा अभिव्यक्ति दिएकाले पनि प्रसाईले समर्थन पाउँदै गएका हुन् । अर्थात् राजनीतिक पार्टीका नेताहरूले बाटो बिराएर आत्मकेन्द्री बनिदिँदा नेताहरूको कमीकमजोरीको बाईप्रोडक्टका रूपमा दुर्गा प्रसाई जन्मिएका हुन् ।
राजनीतिक पार्टीहरूले आफ्नो मूल जिम्मेवारी बुझेर काम गरेका भए, व्यवस्थासँगै आफ्नो मात्र होइन, आम जनताको पनि अवस्थामा परिवर्तन गर्ने काम गरेका भए न राजाको कुरा उठ्थ्यो न दुर्गा प्रसाईको नै । प्रसाईले आफू उभिएको धरातल नै हल्लाउने अवस्था ल्याउन सक्ने भएपछि मात्र नेताहरू बर्बराउन र सल्बलाउन थालेका हुन्, उनलाई घेराबन्दीमा पार्ने प्रयासमा लागेका हुन् । आफ्नो हातमा सत्ता र शक्ति आएको बेला त्यसको चरम दुरुपयोग नगरेको भए कसैले पनि कसैको हुङ्कारसँग डराउनु पर्ने थिएन ।
नेपालका सबै नेताहरू चुकेका छन् । को कहाँ कति चुकेका छन् भन्ने कुरा उनीहरूलाई नै थाहा होला तर सतहमा आएका काण्डहरूलाई मात्र सम्झने हो भने पनि उनीहरूलाई जनताले माफ गर्न सक्ने खालका छैनन् । उनीहरूको अकर्मण्यताकै कारण संघीय गणतन्त्रका विरुद्धमा आवाजहरू उठ्न थालेका हुन् । नेताहरूको आचरण शुद्ध नभएकै कारण हिजो उनीहरूका पक्षमा उभिएका जनता आज कित्ता परिवर्तन गर्न बाध्य बनेका हुन् । दुर्गा प्रसाईहरू जन्माउने कारक तत्त्व नेताहरू स्वयम् हुन् ।
हजारौं नेपाली जनताले बलिदान गरेर ल्याएको गणतन्त्रको जगलाई एउटा दुर्गा प्रसाईले नै नमिठो गरी हल्लाइदिएका छन् । एउटा प्रसाईलाई थेग्न नसक्ने यो कस्तो व्यवस्था हो ? व्यवस्था जोगाउन टिकटक बन्द गराउनुपर्ने अवस्था आयो । अब नेताको अनुहारमा लागेका काला दाग छोप्न के के बन्द गराउने हुन्, भन्न सकिन्न । स्मरणीय छ– हिजो दूरसञ्चार नै बन्द गराउँदा पनि ज्ञानेन्द्र शाहको सत्ता टिकेको थिएन । दाहाल सरकारले पनि एकपल्ट दुस्प्रयास गर्न त पायो नै ।
प्रसाईको रापको छटपटी ओली र दाहाललाई मात्र छैन, भ्रष्टाचार, बेथिति र अराजकताका पृष्ठपोषक देउवा, नेपाल, भट्टराई, खनाल आदिलाई पनि छ । यीमध्ये कसैले पनि अरू कसैले गलत गर्न खोज्दा रोक्न सक्थे तर मिलिभगतमा भाग खोजेर चूप लागेर बसे । उनीहरूकै अकर्मण्यताका कारण आज व्यवस्था विरोधी आवाज मुखरित भएका हुन् । आफूले भोग गरिरहेको विर्ता जाने भय भएपछि आएको नेताहरू रुखो र धम्कीपूर्ण अभिव्यक्ति उनीहरूको फेस सेभिङ्गको असफल प्रयास मात्र हो ।