नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ मंसिर ।
आईसिसि एकदिवसीय क्रिकेट विश्वकप, २०२३ को उपाधि अस्ट्रेलियाले जितेको छ । आइतबार भएको खेलमा घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले उपाधि जितेको हो ।
अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा जारी फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा अलआउट हुँदै २४० रनमा समेटिएको थियो । भारतको लागि केएल राहुलले १०७ बलमा एक चौकको मद्दतमा ६६ र विराट कोहलीले ६३ बलमा चार चौकाको मद्धतमा ५४ रनको अर्धशतकीय पारी खेले भने कप्तान रोहित शर्माले ४७ रन बनाए । भारतका लागि कोहली र केएल राहुलले चौंथो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए ।
त्यस्तै सुर्यकुमार यादवले १८ र कुलदीप यादवले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए भने जश हेजलउड र कप्तान प्याट कमिन्सले समान २-२ विकेट लिँदा ग्लेन म्याक्सवेल र एडम जाम्पाको भागमा समान १-१ विकेट रह्यो ।
२४१ रनको लक्ष्य लिएर मैदान उत्रेको अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अस्ट्रेलियाको लागि ट्राभिस हेडले १२० बलमा १५ चौका र ४ छक्काको मद्दतमा १३७ रन को शतकीय पारी खेले भने मार्नुस लाबुसेनले ११० बलमा ४ चौक्काको मद्धतमा ५८ रनको अर्धशतकीय पारी खेले । यी दुईले तेस्रो विकेटका लागि १९२ रनको साझेदारी गरे ।
त्यस्तै विजयी रन प्रहार गरेका ग्लेन म्याक्सवेलले दुई रनमा अविजित रहे । भारतका लागि जसप्रित बुमराहले दुई र मोहम्मद शामी र मोहम्मद सिराजले एक/एक विकेट लिए । जितसंगै अस्ट्रेलियाले एकदिवसीय विश्वकप इतिहासमा कीर्तिमानी छैटौं उपाधि जितेको छ । यसअघि अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७, २०१५ मा उपाधि जितेको थियो ।