सभामुख घिमिरेद्वारा ३०१ जनालाई लौरो वितरण

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे यो पटक निर्वाचन क्षेत्रमा आउँदा मुख्य कार्यक्रम नै आफ्नो निर्वाचन क्षेत्रका ज्येष्ठ नागरिकहरूलाई लौरो वितरण रहेको पाइएको छ । उहाँको तीन दिने गृह जिल्ला झापा भ्रमणमा दुई दिन लौरो वितरण कार्यक्रममा सहभागी बन्नु भयो ।

उहाँले आफ्नो निजी खर्चमा निर्वाचन क्षेत्रका ३०१ जना ज्येष्ठ नागरिकलाई लौरो वितरण गर्नु भएको छ । त्यसको व्यवस्थापन भने बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाले गरेका थिए। उहाँको सचिवालयका अनुसार आइतबार बिर्तामोडमा लौरो वितरण गर्नु भएको छ ।



यसैगरी सोमवार अर्जुनधाराका ११५ र बुद्ध शान्तिका तीन वटा वडाका ३६ जना ज्येष्ठ नागरिकलाई लौरो वितरण भएको छ । सभामुख घिमिरेले आफै लौरो व्यवस्थापन गरेर ल्याएपछि स्थानीय तहहरूले ज्येष्ठ नागरिकहरूलाई टोपी, मजेत्रो, दोसल्ला, चुल्होलगायतको व्यवस्थापन गरेका थिए ।

ज्येष्ठ नागरिकहरू जिउँदो इतिहास भएकाले उहाँहरूसँगको साक्षात्कारका लागि यो एउटा सानो चिनोको रूपमा आफूले उपलब्ध गराएको कार्यक्रममा सम्बोधन गर्दै सभामुख घिमिरेले बताउनु भएको थियो । यताउता हिँडडुल गर्नका लागि यो सहारा बनोस् भनेर लौरो दिने सोच आएको हो, उहाँले भन्नुभयो ।

सभामुख घिमिरेले लौरो वितरणका साथै तीन दिन झापा रहँदा विरिङ खोलामा छठ पर्वमा आयोजित कार्यक्रम र पूजामा सहभागिता जनाउनु भयो । उहाँले शहीद चन्द्र मार्गको बाटोको शिलान्यास पनि गर्नु भएको छ । निर्धारित समयमा नै काम सकिन्छ भन्ने विश्वास लिएको छु यसका लागि स्थानीय उपभोक्ताहरूलाई सकारात्मक तवरले खबरदारी गरिरहनुहोला, सभामुख घिमिरेले भन्नुभयो ।

बिर्तामोड नगरपालिका–४ देखि वडा नं ३ को आदर्श चोक नडियाबारी हुँदै वडा नं ९ को हाल्दिबारी गाउँपालिकाको सम्झना चोकसम्म जोड्ने एक हजार दुई सय मिटर लम्बाइको सडकको उहाँले शिलान्यास गर्नु भएको हो । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार स्थानीयसँग भेटघाट, विभिन्न योजनाहरूको विषयमा छलफलमा समेत घिमिरे सहभागी बन्नु भएको छ ।

(आजको गोपबाट)

 

सम्बन्धित समाचार