नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ मंसिर ।
माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म तोकेको निषेधित क्षेत्रविरुद्ध मङ्गलबार दुईवटा रिट दर्ता भएका हुन् ।
सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञाको निर्णयविरुद्ध सर्वोच्चमा अधिवक्ताद्वय स्वागत नेपाल र प्रेमराज सिलवालले छुट्टाछुट्टै रिट दर्ता गरेको जानकारी दिनुभयो । उक्त रिटमाथि भोलि (बुधबार) प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ ।
यही मङ्सिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा एउटा पक्ष र राष्ट्रिय युवा संघको अगुवाइमा अर्को पक्षले प्रदर्शन गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डला आसपास निषेधित क्षेत्र घोषणा गरेको छ ।
शान्ति सुरक्षा कायम गर्नका लागि भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म पद्मोदय मोडदेखि नयाँ बानेश्वर चोकसम्म जुलुस निकाल्न र विरोध प्रदर्शन गर्न रोक लगाएको छ ।
जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन एने, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम देहायको क्षेत्रमा यही मङ्सिर ४ गतेदेखि ३० दिनसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विराधका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।