दुबईमा ८ नेपाली कोठामा बन्दी, उद्धारको हारगुहार

भद्रपुरमा फर्निचर पसल चलाउँथे ३९ वर्षीय अकबर अन्सारी। पारिवारिक समस्याले उनी ऋणमा चुर्लुम्मै डुबे । ऋणको बोझ हटाउन श्रीमतीसहित वैदेशिक रोजगारीमा जाने उनले निधो गरे । अन्सारीले आफू र श्रीमती अफ्रुज खातुनको राहदानी बनाए । फर्निचरको काममा दुवै विदेश जाने सोचमा पुगे । अनि म्यानपावर एजेन्टहरूसँग सम्पर्क गर्न थाले। यसै क्रममा आफूले सञ्चालन गर्दै आएको फर्निचर पसल उनले बन्द गरे ।

भद्रपुर–८ स्थित फूलबारी टोलनिवासी अन्सारीको अन्ततः दुबईको भिसा लाग्यो । श्रीमतीको चाहिँ लागेन। अन्सारीलाई काठमाडौंं धुम्बाराहीस्थित सागर रिक्रुटमेन्ट प्रालिले गत असोज २८ गते दुबईस्थित जेबेल अली उडायो । उक्त म्यानपावर कम्पनीले फ्री भिसा, फ्री टिकटको समेत धज्जी उडाउँदै आफूसँग १ लाख ७५ हजार रुपैयाँँ लिएको अन्सारीले बताए ।



उनले म्यानपावर कम्पनीसँग गरेको सम्झौताअनुसार उनलाई चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङमा फिनिसिङ कारपेन्टर (फर्निचरको काम) दिने भनिएको थियो । उक्त कामबापत उनलाई मासिक तलब १ हजार १ सय २० दिरहम (करिब ४० हजार नेपाली रुपैयाँँ) दिने सर्त थियो । अन्सारीसँगै अन्य आठ नेपालीलाई पनि सागर म्यानपावरले सोही कम्पनीमा उही कामका लागि भन्दै दुबई पठाएको छ ।

दुबईको जेबेल अली पुगेपछि उनीहरूलाई भिन्न काममा लगाइयो । फिनिसिङ कार्पेन्टर भनेर दुबई लगिएकोमा त्यहाँको चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङले उनीहरूलाई बेल्चा हान्ने लेबरको काम लगायो । यसरी लेबरको काममा लगाएर उनीहरूलाई बिचल्लीमा पारियो । काम फरक परेको भन्दै उनीहरूले सागर म्यानपावरका प्रतिनिधिहरूलाई तत्काल जानकारी गराए । तर, उनीहरूले यस विषयमा खासै चासो देखाएनन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

सम्बन्धित समाचार