नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ मंसिर ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । तनहुँ, ब्यास नगरपालिका-१२ घाँसीकुवामा बुधबार बिहान बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका हुन् ।
धनकुटाबाट मुग्लिनहुँदै पोखरातर्फ जाँदै गरेको ग.१ ख ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो । मृत्यु हुनेहरूमा धनकुटा सागुरीगढी गाउँपालिका-९ बस्ने ४५ वर्षीय हस्त राई र अन्दाजी ५५ वर्षीय पुरूष रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र पुरूषको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
अन्य घाइतेमध्ये ५ जनाको दमौली अस्पताल र १९ जनाको रत्नहरी मेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने ९ जनालाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।
दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरेको थियो । त्यस्तै कैलाली, धनगढी उपमहानगरपालिका-११ बेलास्थित सडकमा से।२ प २६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-५ बस्ने ३८ वर्षीय खेम चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।