सांस्कृतिक नाटक ‘बोधि-सत्व’ मञ्चन हुने

परिकल्पना, लेखक तथा निर्देशक चन्द्रमान मुनिकार तथा ब्रज कलाकुञ्जको प्रस्तुति रहेको सांकृतिक नाटक बोधि–सत्व मञ्चन हुने भएको छ ।

मान्छेले आफ्नो जीवनमा आफ्नो क्षणिक खुशीको लागि विभिन्न उद्देश्य राखेर अघि बढ्ने क्रममा आफुलाई झन्–झन् दुःखतिर धकेलिरहेको हुन्छ । दुःख भयो भनेर झन् त्यो कुरा सोचेर फेरि दुःखमा धकेलिरहेको हुन्छ । मान्छेले आफ्नो स्वार्थ र खुशीको लागि नराम्रो कर्म गरिरहेका छन् । वास्तवमा मान्छेले आफ्नो जीवनमा अरुको हित गर्न सक्नुपर्छ । मनमा बोधि चित्त उत्पन्न गर्नु पर्छ अर्थात राम्रो चित्त बनाई लोकजनको उपकार गर्नु करुणा हो । कसैको कुभलो नचिताई राम्रो चित्तराख्नाले बोधिज्ञान प्राप्त भई बोधिसत्वको मार्गमा पुग्न सकिन्छ भन्ने कुरा यस नाटकमा देखाउन खोजेको जनाइएको छ ।



बोधिसत्व नाटकको नाट्य रुपान्तरण इँगिहोपो कोँइच सुनुवारले गरेका हुन् भने नाटकमा मुख्य पात्रको रुपमा सुदन मुनिकार तथा कलाकारहरु संगीता थापा, युवाहाङ राई, अनिशा श्रेष्ठ, सन्तोष गिरी, अजय लामा, सृजना शर्मा, अन्जु श्रेष्ठ, नविन काफ्ले, नानुमैया महर्जन र सचिन लामा छन् । नाटकमा सङ्गीत संयोजनमा निरज शाक्य र यचु शाक्य छन् । यस नाटकलाई ममा आर्ट्सको सहकार्यमा बज्र कला कुञ्जको प्रस्तुति रहेको छ । यस नाटकको लागि काठमाडौं महानगरपालिकाको सहयोग रहेको छ ।

बज्र कला कुञ्जले यसअघि नामसंगति, कुमारी र पचली भैरव जस्ता सांस्कृतिक नाटकहरु पनि मञ्चन गरिसकेको छ भने कलाकुञ्ज तीन दशकदेखि निरन्तर रुपमा नेपालको मौलिक कला, संस्कृति मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, सम्बर्धन तथा उत्थानमा लागि परेको छ ।

नाटक मंसिर २० गतेदेखि पुस ४ गतेसम्म हरेक दिन साँझ ५ बजे कौसी थिएटर, टेकुमा मञ्चन हुनेछ ।

सम्बन्धित समाचार