शेखर-गगन आ-आफ्नै सुरमा

पार्टीको १४औं महाधिवेशनसँगै एकै ठाउँमा आइपुगेका नेपाली कांग्रेसका नेता शेखर कोइराला, वर्तमान महामन्त्री गगनकुमार थापासहित संस्थापनइतर गुट दुई वर्ष बित्दा नबित्दै विभाजित हुन पुगेको छ । २०७९ मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि भएको पार्टी संसदीय दलको नेता निर्वाचनमा महामन्त्री थापा संस्थापनइतर समूहबाट आफैं उम्मेदवार बनेका थिए ।

शेरबहादुर देउवासँग पार्टी नेतृत्वमा प्रतिस्पर्धा गरेका शेखर कोइराला संसदीय दलको नेतामा पनि प्रतिस्पर्धा गर्न चाहेका थिए । तर संस्थापनइतर समूहबाट आफू दलको नेतामा प्रतिस्पर्धा गरिछाड्न थापाको अडानपछि कोइराला पछाडि हटेका हुन् ।



कोइराला १५औं महाधिवेशनमा सभापतिमा सहयोग गर्ने वाचासहित थापा दलको नेताका लागि मैदान खडा भएका थिए । बढ्दो आशंका र अविश्वासबीच कोइराला र थापा पक्ष बाहिर भए पनि एक ठाउँमा देखिँदै आएका थिए । तर एमालेको समर्थनमा कोइरालानिकट नेता केदार कार्कीलाई कोसी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा पुर्‍याएसँगै कोइराला र थापाबीच संवादहीनताको अवस्था छ । कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई गठबन्धनले दुईपटक मुख्यमन्त्रीमा अघि सारेको थियो ।

तेस्रो पटक मुख्यमन्त्री पद कांग्रेसले माओवादीलाई छाडिदिएको थियो । तर कोइरालाले एमालेसँग मिलेर कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा पुर्‍याउँदासम्म त्यसको सुइको थापाले पाएनन् । त्यसप्रति थापा कोइरालासँग सन्तुष्ट छैनन्। त्यसले कांग्रेसभित्र संस्थापनइतर समूह थप कमजोर बन्न पुगेको छ । साथै, कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलसमेतलाई जोडेर अघि बढ्ने कोइराला प्रयासलाई कमजोर बनाएको छ ।

१४औं महाधिवेशनको सम्पूर्ण परिणाम नआउँदै १५औं महाधिवेशनको चासो र चर्चा सुरु भएको कांग्रेसमा नेतृत्व प्रतिस्पर्धाका लागि कोइराला र थापाले आआफ्नो तयारी थालेका छन् । कोइरालाले सभापतिमा ४० प्रतिशत मत पाउँदा थापा लोकप्रिय मतसहित महामन्त्री निर्वाचित भएका थिए । त्यतिबेला पनि गुटगतभन्दा व्यक्तिगत मत मागेको आरोप खेपेका थापाले आगामी महाधिवेशन केन्द्रित राजनीतिक भेटघाट र जिल्ला दौडाहा सुरु गरेका छन् ।

नेता शेखर कोइरालाले १४औं महाधिवेशनमा ‘यस पटक र एक पटक’ भन्ने नारा दिएको भन्दै निकटहरूले थापा सभापतिको प्रत्याशी बन्ने दाबी गर्दै आएका छन् । पछिल्ला दिनमा थापाले जिल्लाका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएका छन् । कोइराला पनि १४औं महाधिवेशनका बेलाको प्रतिकूल अवस्थामा पनि ४० प्रतिशत मत पाएको भन्दै आगामी महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न सक्रिय छन् । आजको नागकि दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार