नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ मंसिर ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । मकवानपुर, गढी गाउँपालिका-२ धवाडीपुलस्थित सडकमा प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको छेउबाट करिब १२ मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार सोही गाउँपालिका-२ कुर्ले पाखा बस्ने ३४ वर्षीया रुपा स्याङतान र उनकै ५ महिनाको छोरा रहेका छन् । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएको छ ।
त्यस्तै काभ्रे, रोशी गाउँपालिका-११ डालाबेशीमा बा।४ ख ७५१८ नम्बरको बसले बा.प्र.०२-०२४ प ४०९२ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार काठमाडौं महानगरपालिका-११ बस्ने ६१ वर्षीया बिन्दा गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै बाजुरा, हिमाली गाउँपालिका-६ बोल्ढिकमा लु.१ज.४८२९ नम्बरको बोलेरो जिप अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार मुगु खत्याड गाउँपालिका-९ नखर्जी बस्ने २८ वर्षीय मदन सार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका जीपमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप चाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता झापा, गौरादह नगरपालिका-२ कार्की चोकमा गौनपाई ५३ नम्बरको सिटि सफारीलाई ना अपसा २५३ नम्बर लेखिएको पिकअप गाडीले बुधबार दिउँसो ठक्कर दिँदा सिटि चालक सोही ठाउँ बस्ने ५२ वर्षीय रघुनाथ काफ्लेको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सिटिमा सवार २ जनालाई म्याडीम्याक्स अस्पतालमा र गाडी चालकलाई दमक अस्पतालमा उपचारको लागि पठाइएको छ । त्यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-६ लुभु सानागाउँमा हाल नम्बर नखुलेको बोलेरो गाडीले बा.२९ प ९४८५ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही नगरपालिका-८ लुभु घर भएका ४३ वर्षीय दिनेश श्रेष्ठ र उनकी श्रीमती ३७ वर्षीया संगिता श्रेष्ठ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कृष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न शंकास्पद बलेरो गाडीलाई लुभुस्थित खेतबाट प्रहरीले नियन्त्रणमा लिएको छ । हाल फरार गाडीचालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।