नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ मंसिर ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-५ थलीमा प्रदेश ३-०१-०० ३ क ६४८८ नम्बरको निशान गाडी र बाग्मती प्रदेश ०२-०३२ प ३३४१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार शंखरापुर नगरपालिका-८ साखु घुमार चोक घर भएका ३० वर्षीय सुलभ मोक्तानको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणटारस्थित शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै बाँके, राप्तीसोनारी गाउँपालिका-८ ओबरीस्थित सडकमा महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको सु.प्र.०२-००१ ख १२४७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय केशर कुवँरको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै कैलाली, लम्कीचुहा नगरपालिका-२ गणेशपुरस्थित सडकमा ना.५ ख ८७०० नम्बरको बसको ठक्करबाट पैदलयात्री मोहन्याल गाउँपालिका-७ बस्ने ३७ वर्षीय डम्मर बहादुर बिष्टको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।