नेपालमा टिकटक बन्द गरेकोप्रति चीन असन्तुष्ट

सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ । कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको हो ।

टिकटक चिनियाँ कम्पनी बाइट डान्सले बनाएको एप हो । छोटो(छोटो भिडियोमार्फत् शिक्षा र मनोरञ्जन प्रदान गरेर समाजमा सकरात्मक सन्देश दिन सकिने भए पनि नेपालमा टिकटक अश्लिल हुँदै गइरहेको थियो । सरकारले पिन टिकटकबाट भइरहेको विकृति रोक्न उक्त एप बन्द गरेको बताउँदै आएको छ ।



टिकटक बन्द भएपछि औपचारिक र अनौपचारिकरूपमा चिनियाँ अधिकारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत सरकारका उच्च अधिकारीसँग सो निर्णयप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री दाहाललाई भेटेरै टिकटक बन्द गर्ने निर्णयबाट आफू दुःखी भएको बताएका थिए । भूराजनीतिक प्रभावले हो वा सामाजिक सद्भाव बिगारेकाले हो ? कुन कारणले नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो भन्नेबारे स्पष्ट हुन नसकेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

चिनियाँ राजदूत छन् सोङले भूराजनीतिक प्रभावका कारण नेपाल सरकारले टिकटक बन्द गरेको त होइन भनी प्रधानमन्त्री दाहालसँग प्रश्न गरेका थिए । प्रधानमन्त्री दाहालले भूराजनीतिक प्रभावले नभइ खल्बलिँदै गएको सामाजिक सद्भाव कायम गर्न टिकटक बन्द गर्ने निर्णय लिन सरकार बाध्य भएको चिनियाँ राजदूत सोङलाई जवाफ दिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल नियमन गर्न सरकार अग्रसर रहेको र त्यसका लागि बलियो कानुन बनेपछि पुनः सञ्चालनमा ल्याउन सकिने राजदूत सोङलाई आश्वासन दिएका थिए । प्रधानमन्त्री दाहालले जति स्पष्टीकरण दिए पनि टिकटक एप बनाउने चीन भने सरकारको निर्णयलाई लिएर सशंकित बनेको छ ।

टिकटक बन्द गर्ने निर्णय भएलगत्तै चिनियाँ अधिकारीहरूले विभिन्न माध्यममार्फत् सरकारसँग असन्तुष्टि पोखिरहेका छन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

सम्बन्धित समाचार