सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१६ पानीस्वारामा मधेश प्रदेश ०३-००१ त ६९८७ नम्बरको ट्याक्टरअनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५६ वर्षीय जित बहादुर थिङ र ट्याक्टरका चालक बारा निजगंढ नगरपालिका-१३ बस्ने २६ वर्षीय डिलम थिङ रहेका छन् । त्यस्तै ताप्लेजुङ, सिरिजङ्घा गाउँपालिका-८ छेबुकमा प्र.१-०१-००१ ज ३४३७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा गाडी चालक फुङलिङ नगरपालिका घर भएका ३० वर्षीय निसान लिम्बुको मृत्यु भएको छ ।



बिग्रिएको गाडी धकेल्ने क्रममा गाडीले थिच्दा उनको मृत्यु भएको हो । यता झापा, मेचिनगर नगरपालिका-१३ स्थित सडकमा प्रदेश १-०३-००१ प २६५३ नम्बर र प्रदेश १-०१-०१६ प ७६४९ नम्बरका २ वटा मोटरसाइकल पुलमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा प्रदेश १-०१-०१६ प ७६४९ नम्बरको मोटरसाइकल चालक झापा गाउँपालिका-३ बस्ने २० वर्षीय मनिस बाँस्कोटाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।घाइते भएका सोही मोटरसाइकलमा सवार १ जनाको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको छ भने प्रदेश १-०३-००१ प २६५३ नम्बरको मोटरसाइकल चालकलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ ।

यस्तै पाल्पा, रैनादेवी छहरा गाउँपालिका-२ स्थित सीजी कम्पनीको कम्पाउण्डभित्र लु.१ क ३१६१ नम्बरको टिपर आइतबार राति दुर्घटना हुँदा रिब्दिकोट गाउँपालिका-१ ख्या बस्ने २४ वर्षीय शिर बहादुर पालुङ्गेको मृत्यु भएको छ । माटो सार्ने क्रममा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार