कविता- बूढो मशान

गाइॅगुइॅ हल्ला छ-

देशभित्र अचेल



आर्यघाट पुगेको लास व्यॅुझेर

नयॅा चटक देखाउन थालेको छ

बूढो मशानले,

इतिहास उल्टो गतिमा हिड्दैन

धार्मिक दास मालिक

सबैलाइ थाहा छ-

तैपनि तिनीहरुले

रामवाण ओखती भनेर

सर्पका माला, बाघका छाला

बलिको रातो टीका लगाउने

स्वघोषित भूत, प्रेत

मशानहरुले-

नेपाली जनतालाइ झुक्याउन

पश्चगामीहरूले

नयाँ कार्ड फालेको छ l

विराट हनुमानका

नग्न प्रदर्शन जारी छ,

राज्यको धार्मिक चरित्र हुँदैन

स्वप्ना, समर्पण, र

संघर्षको परिणति हो – गणतन्त्र l

केयौ पुस्ताको बलिदानीपछि

डम्पिंग साइटमा पुर्याएर

दिवास्वप्न देख्नेहरूको

हड्डी समेत गालेको छ

बूढो मशानले फेरि …..।

 

++++++++++++

कुनै पनि व्यवस्था पूर्ण हुँदैन

सबैलाई थाहा छ-

लठैत कठमुल्ला जमातको

प्रोपोगन्डाले

कुनै पराकम्पन ल्याउॅदैन l

नित्से भन्छन्-

ईश्वरको

मृत्यु भईसकेको छ,

तिमी कसरी

विष्णु अवतार फेरि ?

 

चिहान पुगेको चेतशून्य

निरंकुश वंशका सन्तान

बलात्कारी , हत्याहिंसाका

तिम्रा सिंहासन

देवीदेवता र कलाकृतिका

तस्कर

सयौ वर्षदेखिका मुलुकमारा

नेपाली जनताले अझै पालेको छ

बुढो मशानले ….।

 

+++++++++++

पञ्चायाको हण्डीमा मौलाएका

लोकतन्त्रमा बहुलाएका

एलिट वृत्तका झोलेहरू

भ्रामक कुरा खेतीका

स्टन्टबाजी हान्दै

दक्षिणी छिमेकीका

बुद्धीचालमा चलेको छ

बूढो मशानले फेरि ….।

 

++++++++++++++

कुरा स्पष्ट छ-

संघीय गणन्त्रको बाहक तिमी

हुँदै होइनौ

थुकको डोरी नबाट,

मानिसका चेतना र चिन्तन

अग्रगामी र प्रगतिशील छन्

तिमी जतिसुकै डर्टी ट्रिक चलाऊ

– बूढो मशान ?

अन्तत: विश्वमा तासका

चारवटा मात्र बादशाह

रहनेछन्

ध्यान राख – राजा निरोको

दरबार उहिल्यै जलेको छ

बूढो मशानको फेरि …।

 

सम्बन्धित समाचार