नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ मंसिर ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सिरहा, औरही गाउँपालिका-२ तुलसीपुरमा स.१ त ७४५८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा ट्याक्टर चालक सोही ठाउँ बस्ने ४० वर्षीय सुरेन्द्र यादव र सोही ठाउँ बस्ने वीरेन्द्र यादवको छोरा ७ वर्षीय चन्दन यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका सुरेन्द्रको प्रादेशिक अस्पताल लहान र चन्दनको घटनास्थलमै मृत्यु भएको हो । साथै घाइते भएका १ जनाको आरके मेडिसिटी अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
त्यस्तै मोरङ, सुन्दरहरैचा नगरपालिका-४ स्थित सडकमा प्र.१-०२-००१ क ४५२५ नम्बरको ट्रकमा को.२० प ५८५४ नम्बरको मोटरसाइकल ठोक्किएर शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-७ बस्ने २८ वर्षीय बिक्रम माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटना घाइते भएका मोटरसाइकल चालकसमेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै दाङ, राजपुर गाउँपालिका-१ कटवेरुवामा रा.४ प १०२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तुलसीपुर उपमहानगरपालिका-७ गणेशपुर बस्ने ७० वर्षीया गोमा कुमारी भण्डारीको शुक्रबार राती मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-११ खानेपानीस्थित सडकमा बा.७ च ५९७९ नम्बरको गुडिरहेको बोलेरोबाट लडेर सोही नगरपालिका-९ जामिरे बस्ने ३५ वर्षीय भिमसेन विश्वकर्माको शनिबार बिहान मृत्यु भएको छ ।
गम्भीर घाइते भएका उनको मेलम्ची नगर अस्पताल हुँदै नेपाल मेडिकल कलेज अत्तरखेल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।