नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ मंसिर ।
मलेसियामा जारी एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । आइतबार भएको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो ।
युएईको दुबइस्थित आइसिसी एकेडेमी २ मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २६१ रनको योगफल तयार पारेको थियो । अफगानिस्तानको लागि जाम्शिद जद्रानले १०६ रनको शतकीय पारी खेले भने नौमान साह अघाले ६० रनको अर्धशतकीय पारी खेले ।
त्यस्तै राहिमुल्लाह जुरमातीले ३५ रन बनाई आउट भए भने वाफिउल्लाह ताराखिलले १५ रन जोडे । नेपालका लागि हेमन्त धामी, गुलशन झा र सुवास भण्डारीले समान २-२ विकेट लिए भने दीपेश कँडेल र आकाश चन्दको समान १-१ विकेट रह्यो । २६२ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १८८ रनमा समेटियो । नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९१ रनको उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै कप्तान देव खनालले २४ रन बनाए भने गुल्शन झाले १७, दीपक बोहराले १५, दीपेश कँडेलले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । अफगानिस्तानका लागि फरिदुन दावुदजाई र नसिर खानले समान ३-३ विकेट लिए भने मोहम्मद युनिस जद्रानको भागमा दुई विकेट रह्यो ।
यस हारसँगै प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अत्यन्त न्यून भएको छ । यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो । अब नेपालले आफ्नो तेस्रो खेल मङ्सिर २६ गते भारतसँग खेल्नेछ ।