नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ मंसिर ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन टनेल प्रवेश गेटबाट अवैध रूपमा भन्सार छली लैजान लागेको साढे छ किलो सुनसहित गएराति बरामद भएको छ ।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका ईजिप्टियन नागरिक ३२ वर्षीय मोहमद मोगामद लसिमलाई जाँच गर्ने क्रममा निजले लगाएको ज्याकेटको भित्रपट्टी फल्स बटम बनाई टेपले बेरेर ल्याएको अवस्थामा उक्त वस्तु बरामद गरी उनलाई पक्राउ गरिएको छ ।
साथै थप अनुसन्धान गर्ने क्रममा उक्त सुन कारोबारीका सम्बन्धमा अन्य दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको विस्तृत विवरण खुलाइएको छैन । कार्यालयले पक्राउ लसिमले पाउडर बनाएर ल्याएको साढे छ किलो सुन बरामद गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद वस्तुसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।