नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ पुस ।
जबरजस्ती करणी गरेको अभियोगमा विभिन्न स्थानबाट दुई जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर, चाँगुनारायण नगरपालका-२ दुवाकोट स्थित इँटाभट्टामा काम गर्ने सोही भट्टाको झ्याउलीमा बस्ने ४९ वर्षीया सोम बहादुर स्याङतानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
स्याङतानले ती किशोरीलाई सोही भट्टाको झ्याउलीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका-५ पिखेलबाट पक्राउ गरेको हो । त्यस्तै १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, गौरादह नगरपालिका-६ बस्ने २३ वर्षीय दीपक बराइलीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कन्काई नगरपालिका-२ सुरुङगा बजारस्थित पेरिस होटल एण्ड लजमा गत मंसिर २५ गते बराइलीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।