नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ पुस ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित बसपार्कमा बा.२ ख २२८४ नम्बरको बसको ठक्करबाट पैदलयात्री मकवानपुर भिमफेदी गाउँपालिका-६ घर भई हाल काठमाडौं सुन्दरीजल बस्ने २५ वर्षीय सरोज बिकको शनिबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै चितवन, कालिका नगरपालिका-१ लङकालाईनमा भरतपुरबाट खालेसिमलतर्फ जाँदै गरेको बा.११ च ८७८९ नम्बरको कार अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ बस्ने २७ वर्षीय विष्णु क्षेत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।यसैगरी चितवन, भरतपुर महानगरपालिका-५ बिकास चोकमा ना.६ ख ७९५४ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका-५ बिकास चोक बस्ने २३ वर्षीया अमृता मिश्रको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता महोत्तरी, बलवा नगरपालिका-११ रातो खोल पुलमा प्रदेश २-०२-००४ प ३५४४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बलवा नगरपालिका-११ रौजा बस्ने १८ वर्षीय तमन्ना कवारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै सर्लाही, ईश्वरपुर नगरपालिका-१२ बाँके जंगलस्थित सडकमा हाल नम्बर नखुलेको सवार साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूषको शुक्रबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
उता बारा, प्रसौनी गाउँपालिका-२ दुधौरा खोलाको पुलमा कलैयाबाट वीरगंजतर्फ जाँदै गरेको म.प्र.०३-०३० प ४३९८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका-१३ बलिरामपुर बस्ने २२ वर्षीय कुन्दन मेहता खत्री र सोही उपमहानगरपालिका-१२ सितलपुर बस्ने २२ वर्षीय अभिमनु कुशवाहाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका कुन्दनको एलएस न्यूरो अस्पताल परवानीपुरमा र अभिमनुको एनएमसि अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यता भक्तपुर, सूर्यबिनायक नगरपालिका-९ जगाती पुलस्थित सडकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा.१० च ८२८३ नम्बरको बोलेरो गाडीको ठक्करबाट पैदलयात्री रोल्पा घर भएका ३१ वर्षीय अर्जुन घर्तीमगरको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसि अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो ।
गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सल्यान, बाग्चौर नगरपालिका-३ स्यालागैरास्थित सडकमा रा.१ क ८५९ नम्बरको तिरूपाते कम्पनीको जेसीबी अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा जेसीबीका सह- चालक दाङ गढुवा गाउँपालिका-५ बस्ने २४ वर्षीय दिपेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको छ । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।