१ सय ३० स्थानीय तह अझै पनि निमित्तकै भरमा

केन्द्रीय सरकारले कर्मचारीको उचित व्यवस्थापन गर्न नसक्दा देशभरका १ सय ३० वटा स्थानीय तहहरू अहिले पनि निमित्तको भरमा सञ्चालन हुन बाध्य रहेको पाइएको छ । ८० वटा गाउँपालिका र ५० वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन् । ती स्थानीय तहमा तल्ला तहका कर्मचारीलाई निमित्त दिइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तको भरमा सञ्चालन भएका स्थानीय तहले प्रभावकारी कामसमेत गर्न सकेका छैनन् ।



यसरी अधिकृत नजानुमा पालिकाका प्रमुखहरूले प्रमुख प्रशासकीय अधिकृतसँग नमिली भ्रष्टाचार गर्न नसक्ने हुनाले आफूलाई मनपरेका र आफ्नो दल निकट प्रमुख प्रशासकीय अधिकृत मात्र लैजाने गर्दा प्रमुख प्रशासकीय अधिकृतको ठाउँ खाली रहेको जनाइएको छ ।

स्थानीय तहका प्रमुखहरूले उनीहरूअनुकूलको प्रमुख प्रशासकीय अधिकृत नपठाए हाजिर गर्नसमेत नदिने प्रवृत्ति देखिएको छ ।

कर्मचारी व्यवस्थापनको जिम्मेवारीमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका स्थानीय तहमा छिटोभन्दा छिटो प्रमुख प्रशासकीय अधिकृत पठाउने गृहकार्य थालिएको जनाएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले भनेको समयमा कर्मचारी नपाउँदा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पूर्ति गर्न केही कठिन भएको बताए ।

उनले भने– ‘कर्मचारी अभाव भएको र लोक सेवा आयोगले भनेको बेलामा कर्मचारी व्यवस्थापन नगरिदिँदा प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकिएकोे हो ।’

१ सय ३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार, विकास निर्माण र सेवा प्रवाह नै प्रभावित हुने गरेको प्रशासनविद्हरूको भनाइ छ । आजको नेपाल समाचारपत्र दैनिकमा समचार छ ।

सम्बन्धित समाचार