नवकान्तिपुर संवाददाता
काठमाडौं, १० पुस ।
पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा धनगढीले पोखरालाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै धनगढी फाइनलमा प्रवेश गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा तीन पटक लिएको अग्रता जोगाउन नसक्दा पोखरा पराजित हुन पुग्यो । निर्धारित ९० मिनेटको समयमा १-१ गोलको बराबरी र थपिएको ३० मिनेटको समयमा पनि थप १-१ गोल भएपछि खेल पेनाल्टी सुटआउटबाट धकेलिएको थियो ।
त्यसअघि खेलको पाँचौँ मिनेटमा आयुष घलानले गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए । तर खेलको ५४ औं मिनेटमा धनगढीका कप्तान देवेन्द्र तामाङले गोल गर्दै खेललाई बराबरी ल्याए । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएकोपछि खेल अतिरिक्त समयमा गएको थियो ।
खेलको १०४ औं मिनेटमा स्टेफन कोजो एनोरले गोल गर्दै पोखरालाई २-१ को अग्रता दिलाए । तर खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । पेनाल्टीमा धनगढीका लागि आज्ञमान, फोडे फोफना, आशिष चौधरी र देवेन्द्र तामाङले गोल गर्दा अमहमद हिजाजीको प्रहारलाई पोखराका गोल किपर प्रिसोले बचाए भए भने पोखराका लागि दिनेश राजवंशी, अन्जल महर्जन, सुरज जिउ ठकुरीले गोल गर्दा मोसेस ग्याबा र आयुश घलानको प्रहारलाई धनगढी गोलकिपरका मोहम्मद ताहाले बचाएका थिए ।
पोखराले अब दोस्रो क्वालिफायरमा मङ्गलबार हुने काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको एलिमिनेटरको विजेतासँग खेल्नेछ । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।