नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ पुस ।
ललितपुर सिटी एफसी दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै ललितपुर उपाधि नजिक पुगेको हो ।
जितसँगै ललितपुरले उपाधिको लागि शनिबार धनगढीसँग खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा ललितपुर लागि इमो इजिकेल र कुशल देउबाले समान १-१ गोल गरे भने पोखराको लागि भने स्टेफन अन्नोरले एक गोल गरे ।
त्यसअघि खेलको ३३ औं मिनेटमा ललितपुर सिटि एफसी १० खेलाडीमा सिमति भएको थियो । ललितपुरका निखिल कदमले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाडेका थिए । उनले पोखराका आयुश घलानलाई फल गरेपछि दोस्रो पहेंलो कार्ड पाउँदै मैदान छाडेका हुन् ।
निर्धारित ९० मिनेटसम्म खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको हो । पहिलो हाफको इन्जुरी समयमा इजिकेलको गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । तर खेलको ७१ औँ मिनेटमा पोखराका अन्नोरले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यसपछी अतिरिक्त समयको ९९ औँ मिनेटमा कुशलको गोल निर्णायक हुँदा ललितपुरले पोखरालाई २–१ ले पराजित गर्यो ।